सपनै सपनाहरुको निलो आकाश बन्छ
कहाँ-हो, कहाँ जस्तै लाग्ने
मनले एकनाश बिस्कुन सुकाउँछ
त्यो पारिलो/भरिलो घाममा
यी रहरहरु कुनै एउटा
सपनाको शिखर चुम्न
के रात के दिन गनिरहन्छ
सपना देखाइदिएको छ यहाँ कसैकसैले
अरुलाई भुलाएर आफ्नो माना भर्नेहरु
अरुलाई झुक्याएर/छक्याएर आफ्नो जिन्दगी सपार्नेहरु
म पनि यो चङ्गुलमा फसेको छु
कोही आऊ र उतारी देऊ
हाम्रो राम्रो नेपालमा
हेर !
मेरो कोठाहरु रङ्गिन-रङ्गिन
टेबुल भरिभराउ
ओछ्यान-ओछ्यानमा सिरानी कापी कलम किताब छरपस्ट
मेरै रुप हेर !
चुस्स दारी, ख्यौटे शरीर दुब्लो अनुहार
म पाजी……
कसले गन्छ र
दिनहरु यसरी बिताइरहेछु
हाल खबरहरु छोटकरीमा दिइरहेछु
एकएक पैसा हिसाब गरेर महँगीमा
बिउ जोहो गरिरहेछु
आमा-बा जगिर खा भन्नुहुन्छ
इस्टमित्र केही गरेन भन्नुहुन्छ
पढ्दैछु भन्छु म
भोलि-भोलि भन्दै दिन गनाउछु-ढाँटेर
आखिर कतिन्जेल चल्छ यसरी ?
अभावले मलाई थिचिरहेछ
सेवा आयोगले मलाई लडाइँ रहेछ
यो हिसाब किताब कसले गर्ने
क्षतिपूर्ति कसले बेहोर्ने सरकार?
हाम्रो राम्रो नेपालमा
पढ्न बसे
देशको भूगोल घुमिरहन्छ
परिस्थिति बदलिरहन्छ
राजनीति चलिरहन्छ
अभाव नाचिरहन्छ
कुकर्म बढिरहन्छ
छियाछिया मन
कसरी बाँधिरहनु….
बिचरो-म जस्ता किताबी किरोहरु
भुतहरु पढेर भविष्य जमाउँछु भन्छ
तीन घण्टामा बजारको सबै किताब ओकेल्नु भन्छ
टाउकाका रौँ झारेर भाग्यमानी बन्नु भन्छ
आशहरुमा आश थोपर्दै
सगरमाथाको उचाइ र समुद्रको गहिराई नाप्छु भन्छ
लोकसेवा पास गरेर
लोकको मान्छे बन्छु भन्छ
हाम्रो राम्रो नेपालमा
तर लोकसेवाहरु हामी र हामी जस्तालाई चिन्दैनन्
झुक्याएर कसरी लडाउने
बढी भन्दा बढी कसरी राजस्व उठाउने
बजारका किताब कसरी बिकाउने
बजारका सेन्टरहरु कसरी मालामाल बनाउने
र अन्त्यमा
सर्टिफिकेट सिरानीमा राखेर
बेरोजगारीहरु खडा गरेर
विदेशका भिसा लगाइदिने सोच्छन्
हाम्रो राम्रो नेपालमा।
मरिण गा.पा. ७, सिन्धुली
प्रकाशित कृति: देश स्वप्न कविता संग्रह (२०६३)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।