पवित्रा घिमिरे

मेरा सपनाहरू–
भविष्यको मिठो परिकार
खाने सोचसँगै
आफ्नै सुन्दर भविष्यसँग
विश्वस्त हुँदै
अनि पलपलमा
रगत, मुटु र मस्तिष्कमा
कसैको नाम कोर्दै
र, उसकै सहयात्री बनेर
जीवनको पर्दा
अनावरण गर्ने सोचमा दौडँदै छु ।
मेरा सपनाहरू–
आफ्नै उद्देश्यमा
विश्वस्त हुँदैरहँदा
सपनाका आरोह–अवरोह छिचोल्दै
सगरमाथाको चुचुरोमा पुग्नैलाग्दा
हठात् किन भत्किए मेरा सपनाका महलहरू !
बलात् किन रोकियो मेरो यात्रा !
हुनसक्छ सायद
सपनामा उसको
नामोनिसान भेट्न नसकेर
सपना टक्क रोकियो
बत्ती झ्याप्पै निभ्यो ।

सखारैको उज्यालोमा
आँखा मिच्दै उठेँ म
र, आजैको बिहानीदेखि
कल्पित सहयात्रीको झुटो घेरामा नपर्न
बल्छीमा नफस्ने बाचा गर्दै र गराउँदै
यही बिहानीबाट
जीवनको नयाँ संस्करण निकाल्न
पुराना सपनाहरू भत्काएर
नयाँ र उन्नत सपनाहरूको
जग बसाल्न हिँडेँ म ।