साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आक्रोश

Chovar Blues Mobile Size

पार्टी तिम्रो हजुरबाले
अंशमा दिएको जग्गा हो,
जसलाई तिमि मनमर्जी
प्लटिङ गरेर बेचबिखन गर?
या तिम्रो श्रीमतीले ल्याएको पेवा,
जसलाई तिमी आफ्नो
व्यापारमा लगानी गर?
कि पार्टी तिम्रो बाउको
कसले माया मारेको बक्यौता हो?

तिमीलाई मन लाग्दा जुवा नारेर
दिनभर बर्खाको चर्को घाममा जोत्ने
गोरु हो म?
त्यही गोरु हिउँदमा अलिकति फुर्सदिलो हुँदा
मेलामा लगेर जुधाउने-फुटाउने?

पार्टीहरू बनाउन सजिलो छ?
मेरा हजुरबा निर्वासित भएका छन्
कहिले विरानो देश
कहिले गाउँबाट सहर
मेरा बाको खुन पसिनाको हिसाब गर्न बाँकी नै छ
मेरो दाइ सहिद भएको छ
दिदी बहिनीहरू बलात्कृत भए
कहिले सेना र कहिलेकहीँ आफ्नै साथीहरूबाट
मेरी आमाले गरेको त्यागको मूल्य लगाउन सक्छौ?

पार्टी एक अबोध बालकको खुत्रुके हो?
चकलेट खान मन लागेको बेला
फुटाएर पैसा निकाल्न?
कि अभागी श्रीमती
पति सँगै सती जान?
कि घाटमा फुट्ने
विधुवाको चुरा ?
या यात्रीसँगै खोलामा खस्ने
बिग्रिएको गाडीको पुरानो टायर?

होस गर पार्टी चलाउने भेम्पायरहरू
हिजो आज मानव रगतको मूल्य
आकासिएको छ
पार्टी जुट्नु र फुटाउनु
तिमीहरूको स्वार्थ, साधन
दम्भ या सोख हुन सक्तैन
यो सँग मेरो जीवन, भविष्य
र, थुप्रै सपनाहरू जोडिएको छ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...