सुलभराज बराल

तिनीहरु फेरि आउँछन्
देशभक्तिको नारा लगाउँछन्
आकाशमा उडी हिँड्ने पक्षी भगाउँछन्
आकाशवाणी जसरी हराउँछ्न्
तिनीहरु फेरि आउँछ्न्
हामीलाइ बन्दुक बोकाउँछ्न्
सूर्य र चन्द्रमाको हत्या गर्न लगाउँछन्
क्रान्तिको वनभोज खुवाउँछ्न्
कान्ति र शान्तिको वाचा जो गराउँछ्न्
तर तिनीहरु फेरि आउँछ्न्
कालो कोट लगाउँछ्न्
कालो अक्षर कालोपाटीमा लेखाउँछ्न्
हाम्रो मन कालो बनाउँछ्न्
सडकमा कालो पत्रे खन्याउँछ्न्
नयाँ मार्ग बनाएर देखाउँछ्न्
तर तिनीहरु फेरि आउँछ्न्
हामीलाई मात्ने चिज खुवाउँछ्न्
भविष्यको प्याला पिलाउँछ्न्
र छन्दक बनाउँछ्न्
हामीलाई वारि छाडी
तिनीहरु नदी पारि जान्छ्न्
तर तिनीहरु फेरि आउँछ्न्
हामीलाई कीर्तनमा बोलाउँछ्न्
परलोकको साक्षात्कार देखाउँछ्न्
धर्मलाई कवाव जसरी सेकाउँछ्न्
नयाँ शिलालेखमा हाम्रो नयाँ नाउँ लेखाउँछ्न्
हाम्रो नाउँ रामेश्वर थियो
अहिले हाम्रो नाम एस्थर हो
परमेश्वरले दिएको नयाँ नाउँ
हाम्रो गाउँलाई कछाडिया गाउँ भन्थे
अचेल परमेश्वरको गाउँ भन्छन्
तिनीहरु फेरि आउँछ्न्
हामीलाई होली वाइन पिलाउँछ्न
कठपुतली जसरी हामीलाई हियाउँछ्न्
हाम्रो नजन्मिएका सन्तानलाई
नयाँ नाच नचाउँछ्न्
तिनीहरु फेरि आउँछ्न्
हाम्रो सम्बन्धहरु भाँचिदिन्छ्न्
हाम्रो विधान च्यातिदिन्छ्न्
हामीलाई सच्याउँछ्न्
हाम्रो घाँटी अँठ्याउँछ्न्
हाम्रो धोती र कमिज माग्छ्न्
हाम्रो धोती र कमिज पट्याउँछन्
उनीहरुको दराजभित्र चाबी लगाएर राख्छ्न्
र हामीलाइ कोटपाइन्ट र टाई झिकेर दिन्छ्न्
मलाई यो कपडा लाउन आउँदैन
नाङ्गो बस्न पनि लाज लाग्छ
तिनीहरु फेरि आउन चाहिँ आउँछ्न्
तिनीहरु नआउँदै
कोही एकसरो दौरा सुरुवाल लिएर आए नि हुने
म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु !