आएर गयो विजया दशैं, तिहार आउँदै छ
भाइटीकाको रौनक अब, दैलोमा छाउँदै छ ।
नेपाली हामी छौं भाग्यमानी, को खुशी हुन्न र ?
संस्कृति राम्रो देखेर मनमा, कसको पो छुन्न र ?
सुन्दर हाम्रो प्रकृति देख्दा, विश्व नै रमायो
बगैंचा यौटै विभिन्न जाति, गौरव बढायो ।
सप्तरङ्गीको लगाइ टीका, मन खुशी पार्नुछ
सयपत्रीसँग मखमली माला, सजाइ राख्नुछ
दाजुभाइसँग दिदीबैनीको, ममता बाँड्नुछ
जुगौंजुगसम्म संस्कृति हाम्रो, राम्ररी साँच्नुछ ।
छाहारी दिने वोधीवृक्षलाई, मनमा सारेर
बुद्धजयन्ती शान्तिको दियो, झल्मल्ल पारेर
नेपाल सम्वत्, लोसार, इद, क्रिस्मस मनाइ
बस्दछन् कोही गौरा र होली, रङ्गिन बनाइ ।
घरमा खसी भित्रिन पनि, सकेन सबैको
निधार रातो हुन नि हरे ! पाएन कसैको
छट्पर्व पनि उस्तै छ राम्रो, पानी र घामको
विभिन्न पर्व शिव र कृष्ण, महत्त्व रामको ।
देवीका रूप देखिन्छ धेरै, बुझ्नु छ ज्ञानले
घमण्ड गरी के बाँच्नु हरे ! पद र मानले
उडाइ चङ्गा मनमा शान्ति, ल्याउनु राम्र्रो हो
सुख र दुःख बाँडेर बाँच्नु, कर्तव्य हाम्रो हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।