सन्दीप घिमिरे

कथाको पात्र जस्तो म,
या पात्रविहीन
कथाको शून्यताजस्तो

समुद्रले शहरमा
आफूलाई खोजिरहेको
अनन्त किनाराजस्तो

म कस्तो कस्तो?
जीवन बुझ्न
जवानी त्यागेको
जोगीजस्तो

सूर्योदय उठ्नेबित्तिकै मलाई
थकानको संकेत गर्छ
सूर्यास्त सुत्नेबित्तिकै मलाई
बेचैनीको आह्वान गर्छ

रोजेको बाटोमा
कतै अल्झिएको म
दोबाटोजस्तो

कथाको पात्र जस्तो म,
या पात्रविहीन
कथाको शून्यताजस्तो

अतुलनीय पीडाका पाइलाहरु
बोकेर हिँडेको
यात्रा हुँ म,
दुर्घटना मलाई घुम्तीमा
कुरेर बसेको छ ।

अप्रत्यासित निर्णयका चाङहरु
बोकेर हिँडेको
जीवनलय हुँ म,
असभ्य कोलाहल मलाई संगीतमा
सुनेर बसेको छ ।

छिया-छियामा बाँडिएर
कतै टाढिएको म
दूर क्षितिजको आशाजस्तो

कथाको पात्रजस्तो म,
या पात्रविहीन
कथाको शून्यताजस्तो ।