

बद्री भिखारी
कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो बीसाैँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइने डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन्ः
१. समय
(बद्री भिखारी)
घाम रोप्छु भनेर
सखारै
घरबाट हिँडेको ऊ
साँझ छिप्पिसकेपछि
खुर्पे जून बोकेर पो
फर्कियो !!

सुलोचना मानन्धर
२. धर्ती
(सुलोचना मानन्धर)
आकाशसँग
मेरो आफ्नो कुनै साइनो थिएन
घाम, जून
ताराहरूसँग पनि नाता थिएन
जब मैले धर्तीलाई आफ्नो बनाएँ,
एक टुक्रा माटोसँग
साइनो जोडेँ
त्यो भन्दा धेरै ठूलो आकाश
अनि उषा र सूर्योदय
सन्ध्या, जून र ताराहरू
सबै सबै नै मेरा भए !

ललिजन रावल
३. दृश्य फेरिएको छैन
(ललिजन रावल)
उस्तै छ हावा
उही हो समय
साँझ पनि उही
छैन भएको परिवर्तन केही,
बेला–बेलामा
मात्र यामहरू फेरिएका छन्
फगत केही वर्षहरू उमेरमा थपिएका छन्
र क्रमशः भित्तेपात्रोहरू
फेरिएका छन् भित्ताहरूबाट
तर अझै
दृश्य फेरिएको छैन आँखाहरूबाट !

विप्लव प्रतीक
४. मानिसहरू
(विप्लव प्रतीक)
मानिसहरू
आआफ्नो जीवनको चुलोमा
आआफ्नै आग्रह,
अनुभव र अनुभूतिका दाउराहरू
विचारले सल्काएर
मृत्युको जाउलो पकाइरहेछन्
र खाइरहेछन्
अनि आफ्नै मृत्यु मरिरहेछन् !!

गीता कार्की
५. एक अँगालो घाम
(गीता कार्की)
तिमी
ढोका खोलेर आयौ
बतासजस्तो
र एक अँगालो घाम
छोडेर गयौ
बर्सौँसम्म
त्यसैको न्यानोमा
सेकिइरहे
मेरा तिसा आँतहरू
आज
म
त्यही घाम
बिर्सिरहेछु … !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 










