प्रभाती किरण

म रम्ने पाखामा अपरिचित हाँस्यो बलसित
म खुल्ने भाकामा बिरस रस नाच्यो छलसित ।
उचाल्ने आँखाले नजर जर सन्जाल अति छन्
छचल्केका मेरा हृदय दहमा छाल कति छन् ।

उधार्दै पीडाका रङ अझ म पोखूँ बदनमा
समेटूँ पौडेका विरह रह सारा नयनमा ।
म हाँस्दा रुन्छन् रे स्वजन जन जो हाल जति छन्
छचल्केका मेरा हृदय दहमा छाल कति छन् ।

नफुल्दै झर्दै थे रहर हर आशा ढलिरह्यो
निमोठी आस्थाका विपुल पुल भत्केसरि भयो ।
छ छाती नौनीझैँ सुमन मनमा गाल पनि छन्
छचल्केका मेरा हृदय दहमा छाल कति छन् ।

उषाको लालीमा सकल कल फालूँ अवनिको
नजाओस् आलीमा किरण रण खोज्दै जलधिको ।
निचोरी चोरीको सफल फलका ताल अझ झन्
छचल्केका मेरा हृदय दहमा छाल कति छन् ।

बनेनन् जे सोच्थेँ प्रकृति कृतिको आकृति गयो
खरानी भाे इच्छा सगुन गुनको वैगुन भयो ।
सुनाएँ मैलेको कुपथ पथ यो जाल यति छन्
छचल्केका मेरा हृदय दहमा छाल कति छन् ।
छन्द : शिखरिणी