राधिका कल्पितयसपालिको दशैँमा पनि

घुम्लान् कि नघुम्लान् गाऊँ- गाउँमा उसैगरि
रहर र खुसीहरु चचहुईँ गर्ने
चर्खे पिङहरु ?

गएका दशैँहरुमा जस्तै
उम्रेलान् कि नउम्रेलान् घरघरमा
आशिर्वादका कवच बनिरहने
सुनका मुना जस्ता जमरा  ?

आशिकमा अक्षता मुछेर
कुर्लान कि नकुर्लान हजुर बा र हजुरआमाहरु
पिँडिमा बसेर गाँउभरिका मान्छेहरु ?

हातभरि पटपट पड्कने नयाँ नोट लिएर
परेवा जस्तै भुरुर्र उड्लान कि नउड्लान्
दशैँलाई दसैँ जस्तो बनाउने बिहानी झुल्के घाम जस्ता भुराभुरीहरु?

कुराउनी र केराको कोशेलीपात बोकेर
माइत आउलान् कि नआउलान् चेलिबेटीहरु
बर्षभरिलाई पुग्ने आशिर्वाद थाप्न
बिरानो बनेको जन्मघर ?

रेलका डिब्बाभरि
सपना र बिपनालाई एउटै पोको पारेका गुन्टाहरु खाँदेर
फिर्लान् कि नफिर्लान्
मन र मुटु बिसाउन
पल्टनबाट लाहुरेहरु ?

मालश्रिका लस्कर जस्तै
छुर्पि र गुदपाकको कोशेली सहित
शहरको ठूलो हिस्सा
गाडिका छतछतमा चढेर
पस्ला कि नपस्ला गाउँतिर
कहरिलो शहर बिर्साउन?

झर्लान् कि नझर्लान्
लेक बाट बेसि र शहर तिर
घाँटीका घन्टहरु छिनछिन बजाउँदै
दशैँ आएको संकेत गर्ने
भेँडा र च्याङ्राका हूलहरु उसैगरि ?

यसपालिको दशैँ
कसरी पस्ला मुख लुकाएर बिस्टका आँगन तिर
नवराज बिकको बरखी बारिरहेको
घरको तघारो नाघेर?

कसरी मच्चिन  सक्लान् पिङमा उसैगरी
सम्झनाका साथीहरु
पिङ मच्चाइदिने सम्झनालाई बिर्सिएर?

कसरी आउला यसपालिको दशैँ
बिसाउने काख र समाउने हात गुमाएका परिवारहरुमा
टुढिखेलमा दुइ छाकका लागि लामबद्द अनुहारहरुमा
यसपालिको बडादशै
बडाबडा घरमा मात्र आउला कि
चिची र चाचा लिएर सबै घरघरमा आउला?