(छन्द कविताः शार्दूलविक्रीडित)

 

वीरेन्द्र नेपाल

बोकी हात मसाल हे भगवती उत्क्रान्ति मच्चाउँदै
खोली नेत्र प्रदीप्त पार जग यो आभा छरी सूर्यझैँ
मान्छे या जगका विसङ्गति सबै फाल्ने इरादा भर
हे काली ! उठ शक्ति सञ्चय गरी धर्ती सुरक्षा गर ।।१।।

छायो आज घनान्घकार भवमा हट्दै गयो चेतना
आऊ शक्ति लिएर विश्वभरि नै छर्ने नयाँ चेतना
सारा दुर्जन भस्म गर्नु छ यहाँ आएर खोजी गर
हे चण्डी ! तरबार बोक करमा धर्ती सुरक्षा गर ।।२।।

तिम्रो नाम लिएर मानवहरू प्राणी यहाँ मार्दछन्
गर्छाैँ धर्म भनी अधर्म गतिको आत्मा लिई हिँड्दछन्
यस्ता दुर्गति अन्त्य गर्न सहजै होऊ तिमी तत्पर
हे धात्री ! गिँड दुष्टका शिर सबै धर्ती सुरक्षा गर ।।३।।

देऊ शक्ति अभूतपूर्व जनमा सद्बुद्धि सद्भावना
छोडून् पाप विभेद मुक्त जग होस् समृद्धि छाओस् यहाँ
धर्ती होस् सुखशान्ति मङ्गलमयी ऐश्वर्यले सुन्दर
हे अम्बे ! ममता छरेर मनले धर्ती सुरक्षा गर ।।४।।

तिम्रो शक्ति चिनेर शुद्ध मनले पूजा र आराधना
गर्दै जीवन यो बितोस् अवनिमा त्यागेर दुर्भावना
आफ्नो शक्ति लिएर निस्क भवमा बन्दै यहाँ भास्कर
हे माता ! नवरूप धारण गरी धर्ती सुरक्षा गर ।।५।।