ओम प्रकाश बञ्जाडे

आयो चाड महान हिन्दुहरुको मेरो महाकाल यो
मेरो मासु लुछेर खान बलियो रच्दो महा जाल यो ।
कस्तो दुख्छ म रून्छु हाँस्छ दुनियाँ कल्पी कवाफै किन?
खोई मानवतार धर्म करुणा, दिन्नौ जवाफै किन ?? (१)

खाँदीनन् जगदम्बिका रगत यो सन्तान आफ्नै छिनी
केको भोग चढाउँछौ मनुज हो ! छिन् क्षुब्ध नीरञ्जनी ।
तिम्रा लोभ र काम क्रोधहरुको पैले बली होस् यहाँ
यो निर्दोष पशू सुरक्षित हुने धर्मस्थली होस् यहाँ ।। (२)

सुन्थे कानहरू धरातलविषे उत्कृष्ट मान्छे अरे
मान्छेकै करबाट आज कसरी मेरा प्रजाती मरे ?
तिम्रो बालक बाघले लुछिलुछी खायो भने हुन्छ के ?
कोरोना अभिशप्त भै घरघरै आयो भने हुन्छ के ?? (३)

मान्छेको मति देख्छु भ्रष्ट दिनहूँ पीडीत चिच्याउँछु
तिम्रो योनितिरै नियाल्छु म अनी सिद्धार्थ भेटाउँछु ।
पड्काएर बमै यि बस्तिहरुमा हिँड्छौ धमीलो बनी
हिँड्थे सन्तहरू फुकेर सडकै मर्ला कमीलो भनी ।। (४)

यो अस्तित्व विराट रूप हरिको बिर्स्यौ कसोरी भन ?
पार्यौ दैँत्यसमान हे मनुज हो सर्वोच्च त्यो जीवन !
तिम्रो होश रहोस् कि ईश्वरसरी छौ उच्च योनीतिर
पाऊ पर्छु नखाउ मांस अब यो हे पृथ्विकै ईश्वर !!! (५)
सार्दूल विक्रिडित छन्द

अर्घाखाँची, हालः काठमाडौँ