राम योञ्जन

लुकीलुकी हेर्थें तिमीलाई सपनीमा चोर्थेँ
लाग्थ्यो लाज विपनीमा परपर हुन्थेँ

आकाशको जुन थियौ छुन सकिनँ
मनको कुरा मनमै थियो भन्न सकिनँ

केही भनिनौ तिमीले पनि आँक्नै सकिनँ
चाह थियो मनभरि व्यक्त गरिनँ

किन तिम्रो मनको कुरा बुझ्न सकिनँ
जिन्दगीको यात्राभरि फर्की हेरिनँ

मन दुखेछ अनायासै नजानेरै हो
नबुझेको मनको कुरा नभनेरै हो

नबोलेको तिमीसँग लजाएरै हो
नहेरेको तिमीलाई डराएरै हो

गल्ती भयो मेरी प्रिया बुझाऊँ कसो गरी
पश्चातापको आगो बल्छ मेरो दिलैभरि

गाँठो पारी मनको कुरा राखेर पो हो कि
फूल चढाई देउरालीलाई भाकेर पो हो कि

देउतासँगै खुट्टा कतै ठोक्किएर हो कि
मुटु दुख्ने रोग फेरि बल्झिएर हो कि

तिम्रै दिलको मझेरीमा बास बस्न लाछ
कहाँ देखौं कहाँ भेटौं किन किन भाछ

शीतल ताप्छु हेरिरहन्छु छुन सक्दिनँ
मेरो दिलकी रानी तिमी भुल्न सक्दिनँ

बाचा गर्छु बन्धन अनि सँगै मर्ने बाँच्ने
पिरतीको चोखो चोखो तिम्रै लागि साँच्ने

आधा बाटो हिँडेपछि फर्किएर हेर्दा
कठिन मोडमा पुग्यो जीवन पर्खिएर बस्दा

देउरालीलाई पाती चढाई माफी माग्न पाऊँ
डाँको छोडी रुने मन छ तिम्रो छाँद पाऊँ

पोखरे, भोजपुर