मनभरि अर्थहीन आवाजहरू गुन्जिरहेका छन्
वायु बगिरहेको छ मधुरो
झ्यालको कापकापबाट लाचार उज्यालो फुस्किएको छ
शब्दहरूको भावार्थ नबुझिएझैँ पुस्तकमा
जीवन अलमलिएको छ कोठाभित्र बन्द अँध्यारोमा
चिसोका कोल्टो फेराइसँगै आङ लुगलुग काँपिरहेको छ सिरकभित्र

प्रयासहीन गोडाहरू सिँढी चढ्छन् ओर्लन्छन्
निस्तब्धता घनिभूत पारिरहेका छन् भुस्याहा कुकुरहरू गल्लीमा
नाक, मुख र आँखाहरू गातीले बेस्सरी बेरेर
सास लम्ब्याउन प्रयत्न गर्दै छौँ हामी
ताल्चा लाएर घरभित्र आफैलाई
अम्मोटझैँ जमाएका छौँ दिनको सौन्दर्यलाई

आँखीझ्यालबाट चियाएर बाटोको छेउसम्म
स्मृतिहरूको झ्याङभित्रबाट
निकै वर्ष अघिको मन खोलिरहेका छौँ हामी
चटपटाएर कोल्टो फेर्दै आफ्नै लाचारिपन

तकियासँगै टाँसेर ती आँखाहरू
आफ्नै गुम्फनहरू अङ्कित गर्दै छौँ हावामा
बोल्ने मन छ र पनि आवाजहीन भएका छौँ

सद्भाव हराएजस्तै भएको छ आफ्नै सामर्थ्यको
विश्वास छैन आफैँलाई आफ्नै बिम्ट्याइमा
किन डल्लो परेको छ हाम्रो औकात
दिन पनि रातझैँ किन चुपचाप छ
पाकेको आँपझैँ झर्न खोज्दै छ किन हाम्रो सङ्कोच !

त्रासले फुसफुस गर्दैछ अनियन्त्रित हाँसो
घरबाट निस्कन बिल्कुलै
सहरमा निष्पट शान्ति छ अहिले !