विजयिता भण्डारी

तिमी उत्साह बोकेर
मौसमसँग परिचित हुँदै
मन मस्तिष्कलाई स्पर्शित गरी
आयौ दशैँ
म मौनतमा कसरी रमाऊँ तिमीसँग

तिमी आउँदा तिम्रो उमङ्गले रङ्ग भर्न
नसकेको पर्खालजस्तै
भएको छु
तिमी आउँदा तिम्रो स्वागतमा
फुल्न नसकेको फूलहरुजस्तै म
बनेको छु दशैँ ।

भरिएका सडकहरु आउने जाने मान्छेहरुलाई
हेरिरहने त्यो मौन वृक्षजस्तै छु
तिम्रो आगमनमा

त्यो बेलामा
मोटे काकाको दोकानमा
एक रुपियाँको दुई बाटा बेलुनमा किनिएका
खुसीहरु
फुटेको बेलुनजस्तै भएको छ
पल्घरे सीता दिदीले दिने
चक्लेटको मिठास खल्लो भएको छ

दशैँमा छोरा आउने
खुसी गाउँभरि बाँढ्दै हिँड्ने आमा
ग्रहभरि आँसु बोकेर
भत्किन लागेको पिँढीमा बसेकी छन्
आफू भत्किन लागेजस्तै देखिन्छिन्
दशैँमा घर फर्किने धनबादुर दादाको सपना
सपनाजस्तै भएको छ
परिकार बिनाका ती भाँडाहरुमा पनि दशैँ आउँथ्यो
यसपालि भाँडा भरी छ तर दशैँ छैन
ती रित्ता भाँडाहरुजस्तै म मौन छु दशैँ

माथिमाथि बादलसम्म रम्दै पुग्ने चङ्गाहरुको
रहर मेरोजस्तै कागजमै मौन छन्
लिङ्गे पिङको लठारो बाट्ने चतुर्मान बडा
नबाटिएका डोरीहरुजस्तै छन्
पिङको खम्बा गाड्ने किरण दादा
नकाटिएको बाँसजस्तै
मौन छन्

काम्रो हराएको बेला
स-साना नानीहरुको पैतला रगडिँदैन
पिङको खम्बा समातेर
पालो पर्खिने नानीहरु रुँदैनन्
यसपालि काम्रोहरुले मौन बस्नुपर्छ
आँशुहरु मौन हुनुपर्छ
हावाको झोकाले पिङ हल्लाउँदैन
हावाले मौन बस्नु् पर्छ

रामे दाइको घरमा चुना लगाउँदा चुनाले खाने
हातहरु मौन देखिन्छन्, त्यो नभिजेको चुनाजस्तै
ती रातो माटोले पोतिने भित्ताहरुको माटो मौन छन्
पोतारो मौन छन्
गाउँघरमा सुनिने ढिकीका आवाजहरु मौन छन्
साँझपख दशैँको स्वागतमा झुट्ने झ्याउकुरीका झन्झनाहटहरु
मौन छन्

आँगनमा फुलेको सयपत्री र मखमलीले पनि
विभेदको प्रश्न तेर्साउँदैछन् जराहरुलाई
निर्दोष ती
जराहरुजस्तै
म मौन छु दशैँ

मेरो शरीरमा परेपछि बल्ल बोल्ने नयाँ लुगाहरु
निधारलाई सजाउने अबिरका पोकाहरु
अनि ती रातो रङमा सजिने सेता चामलहरु
हातमा थमाउने नयाँनयाँ कागजको नोटहरु
बजारमै छन्, न उत्साह छ न उमङ्ग छ
मलाईजस्तै
त्यसैले त दशैँ म मौन छु ।

झापा