राजु रायमाझी

दशैँको लागि गैरी खेतको मन्सुली धानको चिउरा कुटाउन बिहानै उठिन्थ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

एक बथान खसी बोकाको हुलमा बुवाले रातो घोर्ले खसी काट्नु हुन्थ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

बिहान सबेरै ढिकीको मधुर आवाजले ब्युझाउथ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

लिंगे पिङ र रोटे पिङको लागि महिनौँदेखि सावे र काठको जोहो गरिन्थ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

घटस्थापनादेखि एक महिनासम्म स्कुल बिदा हुन्थ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

घर पोत्ने कमेरो माटो र रातो माटो खोज्न टाढा टाढा जानु पर्थ्योे
र पो दशै आए जस्तो लाग्थ्यो ।

महिनौँ मेलापाता गरेर साँचेको पैसाले बजार गएर लुगा किनिन्थ्यो
र पो दशैँ आएजस्तो लाग्थ्यो ।

मालवका केरा र धुस्रे केरा पकाउनलाई खाल्टो खनेर पुरिन्थ्यो
र पो दशैँ आए जस्तो लाग्थ्यो ।

गाउँशहर कोरोनाको त्रासले गर्दा मान्छे मान्छेमा दुरी कायमा गर्नु परेसी
दशैँको रौनक कहाँ रह्यो र ।

लिङ्गे र रोटे पिङ खेल्न साथीभाइको जमघट नभएसी
दशैँ कहा रमाइलो हुने भयो र ।