भिडभाडमा हराइरहेका ताराहरु
चम्किलै भएता पनि
खोजिरहेका छन्, आफ्नो अस्तित्व
टाढा-टाढा रुमल्लिदा, भिडसँगै
सकिरहेका छैनन्, देखाउन
आफ्नो असली चमक
तर,
छुट्टै पहिचान बनाउन सफल चन्द्रमा
आफूलाई एक्लो महसुस गरेता पनि
कहिल्यै खोजेन साथीहरु
अनि,
हराउन खोजेन ऊ
कहिल्यै पनि भिडभाडमा
उसलाई थाहा छ-
भिडभाडमा हरायो भने,
ताराहरु जस्तै बनिदियो भने,
आफ्नो मुहार हराउनेछ,
र, ऊ आफ्नो कर्तव्यबाट विमुख हुनेछ
कोही हुने छैन-
सुनसान अनि अन्धकार रातमा
विशाल आकाशको नेतृत्व गर्ने,
अनि चम्किलो ज्योति दिने
आफ्नो अभिभावक गुमाएजस्तै
नियास्रो मान्नेछन्, सारा प्राणीहरु
किनकि,
ताराहरु त आफ्नो अस्तित्व खोज्दैमा
जुनी बिताइरहेका छन्, भिडभाडमै ।
आखिर, ताराहरुले पनि त
अभाव महसुस गर्दछन्,
अन्धकार औंसीको रातमा
त्यही एक्लो चन्द्रमाको ।
(टीकाराम खनाल जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौंमा अध्यापन गर्छन्। साहित्यमा विशेष रुचि राख्ने खनालले कथा, कविता, गीत, गजल, मुक्तक लेख्नुका साथै अनुवाद पनि गर्छन्। उनका विभिन्न रचनाहरु पत्र-पत्रिका तथा अनलाइन माध्यमहरुमा प्रकाशित हुँदै आएका छन्। उनका गीतहरु ‘मायाको सुरुवात कल्ले चलायो’ र ‘मर्म’ यसअघि नै बजारमा आइसकेका छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।