पिएस्पी चाम्लिङ राई

सायद तपाईं यतिखेर
देशको बारेमा सोचिरहनुभएको छ,
म भने तपाईं र मेरो बारेमा कुरा गरिरहेकोछु ।

तपाईं
एकातिर-
आमाको दुधको गन्ध ओठमा बोकेर खेलिरहेको बालकजस्तो देखिनुहुन्छ,
अनि म एकातिर –
आफैँले छादेको खूनको कालो लेदो चाटदै
खूनको तिर्सना मेटाइरहेको जनावरजस्तो देखिन्छु ।

ब्रह्माण्डको कुनै एक भयानक जादुगरले घरिघरि,
घरि मुरली बजाउँछ हाम्रो कानमा
र घरि शंख बजाउछ…
मुरलीको धुनले तपाईंलाई
बेस्मरी नचाउछ, लैबरी लै…लैबरी लै…
र शंखको चित्कारले मलाई
आदेश दिन्छ, कि म मेरो प्रिय प्रतिबिम्बको हत्या गरेर मलामी जाउँ…

यो महाजालयुक्त जादुगरी समयमा,
म – म नहुन सक्छु,
तपाईं तपाईं नहुन सक्नुहुन्छ…
अहिले तपाईंले समयको ऐना हेर्नुभयो भने,
मैले तपाईलाई देख्नेछु
अर्थात् तपाईंले मलाई देख्नुहुनेछ !!

खोटाङ