खोइ कोलमा पेलेको तेल,
खोइ ओखलमा कुटेको चिउरा
न पहेंलपुर खेतका गरा
न गाउँछन् चिरबिर चरा
कहाँ आयो दशैं ?
खोइ, कसरी आयो दशैं !

खोइ मगमग मरमसला,
खोइ तिब्बती भेडा-च्याङ्ग्रा
न बावियोको लठारो
न बाँसको गरालो
कहाँ आयो दशैं ?
खोइ, कसरी आयो दशैं !

खोइ थर्की-लङ्गुरबुर्जा,
खोइ धुरी माथितिर चङ्गा
न रातो माटोको घेरो
न घरै भित्ताभरि कमेरो
कहाँ आयो दशैं ?
खोइ, कसरी शयो दशैं !

खोइ बम्पर उपहार योजना,
खोइ टोलमा राफल चिट्ठा
न देखा परे लाहुरे काका
न चिची आयो, न पापा
कहाँ आयो दशैं ?
खोइ, कसरी आयो दशैं !

खोइ पाकेका मेवा केरा अम्बा,
खोइ सयपत्री फूलका थुँगा
न घर-घर तन्ना, सारी
न भाँडा साट्ने ब्यापारी
कहाँ आयो दशैं ?
खोइ, कसरी आयो दशैं !

 

डेनमार्क