हो,
मसँग मालिक बन्ने
संस्कार छैन,
व्यवहार छैन,
म मालिक भएर पनि
बन्न सकिनँ।
बाबाले पढ्न पठाउनु भयो
मैले आफ्ना लागि पढिनँ,
आमाले प्रत्येक बिहान उठाउनु भयो
म कहिल्यै आफू खुसी उठिन,
काम सिकाउनु भयो
मैले वहाँहरूको लागि सिकिदिएँ,
आफ्ना लागि कहिल्यै सिकिनँ
साँच्चै हिजो म मेरै
कलिलो मानसिकताको दास थिएँ।
स्कुलमा
सरले पढ नभनिञ्जेल पढिनँ,
लेख नभनिञ्जेल लेखिनँ,
यो याद गर नभनिञ्जेल याद गरिनँ,
‘म’ मा दासत्व जो सवार थियो।
म जति
परिपक्व बन्दै गएँ
उति परिस्थितिको दास बनेँ,
परिस्थितिले जे गरायो त्यही गरेँ,
प्रतिकूल होस् या अनुकूल मलाई
फरक परेन गरिरहेँ।
यदि ‘म’ मा
मालिक बन्ने संस्कार थियो भनेँ
सबै आफ्नै लागि गर्ने थिए हुलाँ।
बन्ने थिइनँ होला
परिस्थितिको दास पनि
म मेरा लागि पढ्ने थिएँ,
सिक्ने थिएँ,
जे गर्ने थिएँ,
आफ्नै लागि गर्ने थिएँ
आफ्नो मालिक बन्ने थिएँ।
यदि म मालिक बनेको भए?
म स्वतन्त्र हुने थिएँ,
हावा जस्तै।
फराकिलो हुने थिएँ,
आकास जस्तै।
म तेजशील हुने थिएँ,
घाम जस्तै।
म अछोइया हुने थिएँ,
आगो जस्तै।
म क्रियाशील हुने थिएँ,
पानी जस्तै।
तर…
मसँग दासत्व जो सवार थियो।
म सोझो बनेँ,
बोल्न सक्ने भएता पनि
मूक बनेँ,
हाँसेर
अत्याचार सहेँ,
आफूलाई
बेचेँ,
अस्तित्वको लिलामी गरेँ,
पेटका लागि
म केवल पेटको दास बनेँ
तपाईंजस्तै,
तिमीजस्तै र तँ जस्तै।
म दास नै रहेँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।