विशाल आकाशभरि छरिएर
टिमटिम चम्कने
एक-एक ताराहरू टिपेर
प्रत्येक तारालाई एक-एक शब्द बनाएर
कविता लेखुँ भन्छु !

प्रेममा शब्द बिनै
आँखा-आँखा र अनुहार अनुहारले
चुपचाप बोल्ने
केही नबोलेरै पनि विशाल भाव बोल्ने
गहिरो अनुभूतिको कविता लेखुँ भन्छु !

टाढा-टाढा फैलिएको
विशाल तालजस्तै
जति समेट्न खोजे पनि
आँखा बाहिरै रहने
पढ्नेको आँखा त्यसैमा हराउने गरी
कविता लेखुँ भन्छु !

यौवनको मध्य वसन्तमा
भर्भराउँदो बैँस बोकेर
मुस्कुराउँदै हिंड्ने युवतीहरू-
र,
टहटह लागेको जून
कति सुन्दर स्निग्ध
एउटा कविता लेखुँ भन्छु !

ओठमा मुस्कान र आँखामा आँसु
एकैचोटि आउने
आनन्दको त्यो दुर्लभ पल
इन्द्रेणीका सबै रङ्ग भरेर अनुभूतिमा
सुन्दर कविता लेखुँ भन्छु !

महाभारतमा-
कौरव र पाण्डवको कुरुक्षेत्रमा
कर्ण र अर्जुनबीचको युद्धमा
जसरी आपसमा वर्षिए बाण
तिनै बाणहरू – शब्द-शब्दमा उनेर
धावा बोल्ने कविता लेखुँ भन्छु !

केही नलेखेर सधैं लेखिरहने म
सधैं लेखिरहेर पनि केही नलेख्ने म
खै के लेखुँ, के नलेखुँ !