टीकाराम खनाल

मेरो हजुरबाले
शरद ऋतुको मध्यतिर
मलिन अनुहार लगाउँदै,
तम्बाकु तान्दै
मसँग भन्ने गर्नुहुन्थ्यो:
“बाबु वसन्तहरु त अझै
थुप्रै आउनेछन् ।”

मैले नबुझेर,
एकछिन उहाँलाई घोरिएर हेरे
अनि, उहाँले थप्नुभयो,
“तर हामीलाई सबै वसन्तहरु
शिशिर सरी बित्दै गए।”

वसन्त शिशिरजस्तै हुन्छन् भने
शिशिरमा पनि कृत्रिम फूलको
मगमग बास्ना लिएको
नाटक गर्नुपर्ने पो हो कि ?!

[टीकाराम खनाल जनमैत्री बहुमुखी क्याम्पस, कुलेश्वर, काठमाडौंमा अध्यापन गर्नुहुन्छ। साहित्यमा विशेष रुचि राख्ने खनालले कथा, कविता, गीत, गजल, मुक्तक लेख्नुका साथै अनुवाद पनि गर्नुहुन्छ। उनका विभिन्न रचनाहरु पत्र-पत्रिका तथा अनलाइन सञ्चार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन्। उनका ‘मायाको सुरुवात कल्ले चलायो’ र ‘मर्म’ यसअघि नै बजारमा आइसकेका छन्।]