महेश नेपाली

के हो तिम्रो नाऊँ ?
के छ तिम्रो हाल ?
काँ हो तिम्रो घर ?
मलाई कहिल्यै सोधिएन ।

बस्,
जात सोधियो
धर्म सोधियो
पटक-पटक सोधियो
जबरजस्ती सोधियो
जवाफ दिँदादिँदै म त लाटो भएछु ।

हिजोआज सोधिँदैन
मेरो जात,
गोत्र,
धर्म,
घर,
आमा,
बा– इत्यादि,

मेरो भौतिक अवस्थाले नै
अचेल मेरो परिचय दिन्छ
बाठो हुँदासम्म दलनको जाँतोमा पिसिएँ,
शोषणको आगोमा जलेँ,
बागमतीमा फालेको
वस्तुसरह बुझिएँ – तर
बौलाहा भएपछि मात्रै
स्वतन्त्रताको अनुभूति गरेँ,
आफैँभित्र बुद्धको प्रतिलिपि पाएँ

आखिर ,
बौलाहा हुनुमा नै जिन्दगीको
अर्थ रहेछ, सार रहेछ

म त बौलाहा मान्छे,
मेरो जात हुँदैन,
धर्म हुँदैन,
नसोध मलाई प्रश्नहरू
मसँग तिनको उत्तर हुँदैन ।

धनगढी उप-मपा-१३, राजपुर