श्रीषा पाण्डे

आज
मलाई हेर्ने मान्छे आउँदैछन्
भ्याईनभ्याई छ
बाआमाले रछानमा
सुर्ता, भारा र आतसको फुर्का फालिदिए
मनसाहरू भकभक उमालेर
रिकापीमा भरेँ
छेउमा ठुस्स पर्दै बस्यो
परिलक्ष्यको परिभल
स्व स्वाहा भुएर दराजमा थन्कियो
उत्कृष्ट हुनुपर्छ सबथोक
संस्कार,आकार, चित्कारको प्रदर्शनीमा

१० वर्षमा बलात्कृत भएकी मलाई
अपनाउनु
महान् महानता
अब रहन्छ र समानता ?
कार्यकरणकतृत्वे हेतु: प्रकृतिरूच्यते
पुरुष: सुखदु:खानन भोक्तृत्वे हेतुरुच्यते

तयार हुने तरखर गर्छु म
अतितको अतास भलभली पौडिरहेको आँखामा
कालो लक्ष्मणरेखा कोरेँ
इच्छाको गजरा लगाएर
न्याय बाधेँ बेस्सरी
बलात्कारीले लोती लिपेदेखि
बधिर बनेका छन् कान
मर्दाङ्गीले चिरिएका ओठमा
मुस्कानको लाली बल्लतल्ल अड्याएँ

यौवन जन्मिएको राताराता गाला
पन्जाको स्वादिलो चोक्टा
सुन्दरताको परिभाषित बोझले
गुप्तबास गएछ
लज्जाले डाक्दा
एक छटाक पाउडरमा खिल्दै फर्कियो
सेता दाँतका काला टाटाहरू गलामा
रीतिको जन्जिरसङ
ख्यालठट्टा गरिराछ
बचाबमा खुट्टा बजार्दा शून्यमा बिलायो
चाकडीमा पाउजू बज्छ अब
घरआँगन छमछम नाच्नेछ

आहा! नयाँ कपडा
धुजाधुजा पारिएको शरीरमा
नयाँ शहर, नयाँ सङ्गत
विश्वास सिएर आत्मबल जोडियो
तानतुन गर्दागर्दै छुटेछ
वीभत्स बन्धन

स्तन
अलिक मिलेन
देखिनु पर्नेजति देखिएन
करबलले गिजोलेको सन्तुष्टिसँग
मातृत्वको सुस्थ सन्तुष्टि
अनशन बसिरहेछ
भावी बखतमा
स्पर्म र ओभाम वार्तामा आए
जीवनचक्रको माग पूरा हुनेछ
अहिले फमवाला ब्रा लगाएँ

पिँडीबाट गुनगुन सुन्छु
आएछन् क्यारे
मेरो जीवनको मूल्य तिर्न
बाआमाले कति जूनी लिनुपर्छ अब?
‘मेरी’को प्राइस ट्यागमा
कति मृत्यु बाँच्नुपर्छ अब?
परचक्रीले बलात्कार गर्दा
बालापनले चुक्ता गरियो
आफ्ना भनाउँदाबाट
खुलेआम बलात्कृत हुन
योनीको के मोल लगाइन्छ अब?
जीवन तिर्नु पर्याप्त होला?

कक्षा: १२
ठेगाना: शिवपुरी, नुवाकोट
विद्यालय: नेशनल स्कुल अफ साइन्सेस