सन्तोषकुमार पोखरेल

म सत्याग्रहमा बस्दैछु,
म पनि भोकै बस्नेछु
तिमीले देखेको जस्तो म, म हुनेछुइँन
म दुब्लो हुनेछु,
मेरा दार्ही चुस्स निस्कनेछन् सेता सेता
मैले तिमी देखि लुकाएर राखेका सेता दार्ही र सेता जुङाहरू,
फेरि उफ्रेर बाहिर आउनेछन्
अनि मलाई गिज्याउनेछन्
मेरो उमेरको साक्षी बनेर ।
मलाई लगाइदिएको कपालको कालो
छिट्टै उडिजानेछ
केस सेताम्य देखिनेछन् काँसका झाँङ जस्ता,
म वास्तवमै बुढो देखिनेछु ।

तिमी नतर्सिनू मलाई बूढो देखेर !
म अस्ति पनि बूढो थिएँ
मेरा विचार बूढा थिए,
मैले जानेका शिष्टाचार बूढा थिए,
तिमीनिर म जवान बन्थेँ
तर मेरा व्यवहार बूढा थिए,
तर मुटु तन्नेरी थियो
तन्नेरी छ र रहनेछ,
अब कम्मर कस्छु

म अहिले सत्याग्रहमा बस्छु

तिमी सडक तताउँदै गर
यहाँ डाकाहरू धेरै भए
तिनको भर नपर !
बरु सकेको आफैं ऐले नै गर
तिमी तिमीहरू बनेर ऊठ
लु अब आङ तान,
अनि डाकाहरूका थाप्लामा
ढुङ्गाले हान !
अति भो अब जनसागरले डाकूहरू घेर,
अनि मुलुकको काया फेर !!!