कविता : जातको प्रश्न


आस्थाको मन्दिर भत्काएर
विद्रोहको घन्टी बजाइएको पाठशालामा
सबैलाई निमन्त्रणा छ
आउनुहोस्
तर याद रहोस्
तपाईं आउँदा – बाटाको धुलो बाटोमै टक्टकाउनुहोला
यहाँ धुलो निषेध गरिएको छ
ती राजेश हमाल को हुन् ? धुलो शिरमा सजाउनुपर्छ भन्ने
हाम्रो टोपीको मर्यादा छैन र ?
नेपाल मुलुकमा त्यस्तो नभनियोस् भनेर ग्रन्थ कोरिएको छ
अटेर गर्दै
– धुलोलाई विभूत मानेर तिलक नै लगाउँछौ भने
आउ मेरा पैरमा तिम्रो शिर राख
बाहिर पश्चिमाहरुको नानाभाँती पढेर
डलरमा हल्ला गर्ने तिमी राजेश त हुनै सक्दैनौ
हाम्रो वेदले
अहँ दिँदै – दिँदैन
यहाँ धोती फेर्ने पण्डितहरु
अर्को समुदायलाई धोती भन्न पाउँछन्
मसाने, सिँगाने, मरेका स्यालहरु
मु** हरु
जेजे मनपर्छ
उही सम्बोधन गर्न पाउँछन्
विद्रोहको बिगुल फुक्नेलाई
निर्लज्ज शासकले क्रान्तिकारी भन्छ नै
धुलो सजाउने राजेशहरुलाई
राजेश नभनेर राक्षस भन्नु पण्डितजीहरुको धर्म हो
समुदायलाई
दुई चार राजेशले बदल्न खोजे भने
मोदीहरु, योगीहरु
केही थान भोगीहरु उठाउने छन्
तब त्यो पाठशाला ध्वस्त हुनेछ

राजेश तिमी फिकर नगर
पाठशालाको एउटा इँटा म उठाउनेछु
बिकहरुको चुल्होमा सेकाएको दरिलो इँटा जोडेर
र हवन गर्नेछु त्यहीँ गायत्रीका मन्त्रहरु,
लगाउनेछु मेरो कुलदेवीको चन्दन हरेक जुठा चुलाहरुमा
एउटा चोखो संसारको भ्रूण हुर्काउन
जातको प्रश्नमा – अजातको उत्तर बनेर ।