रिता मिमोस

सडकमा मकै बेच्ने चाउरिएकी आमासँग
बैँशालु सन्तानको पोटिलो प्रेम सोध्नु छ
छोडी आश्रम, गराई श्रम बा आमा,
हँसमुख चेहरामा प्रेमकै नक्सा खोज्नु छ।

सडक पेटीमा भान्सा घर बसाई
पाटी फलैँचा बेड सुलाउने ती अबोध,
भीखको दुई पैसा र रोटीको प्रेम सोध्नु छ।

खान्छ्न् कति लात र लाठी,
जिउभरि चोट बोकी ट्याप्प पेट,
स्वास फ्याँकी स्वास नै निल्ने ती बफादार,
मालिकको नूनको नुनिलो प्रेम सोध्नु छ।

रिक्सा ठेल्दै गरुङ्गो आँखा हेर्ने ती बा,
पसिना सोहोर्दै दिनको कमाई गनी लग्दा हुन घर,
अघिल्तिरबाट बाटो छेकी परिवारको प्रेम सोध्नु छ।

देख्दछु गल्ली गल्ली र एकान्तहरुमा
सयौँ रूमानी पन्छीहरु वसन्त सजाउँदै
नकोरल्दै उडी ओथार सात्ने अर्कै हाँगातिर,
तुहिएर जाने भ्रूणसँग सजीव प्रेम सोध्नु छ।

टपक्क टिपी नफक्रँदै त्यो गुलाफ,
आफ्नो प्रेम दर्शायौ
ती क्रूर हत्केलालाई कोपिला र
काँढेदार हाँगाको प्रेम सोध्नु छ।

खसे कुन्नी कति कस-कसका लागि आँसु ?
खाइए-खुवाइए कसम नि कति केका लागि?
तिनले आफैँलाई सकाई सकिएको प्रेम सोध्नु छ।

कुर्लिन्थे देश भनी कोही सडकमा,
उर्लिन्थे कोही देश नै भनी सभामा,
किर्नाले झैँ चुसी लरक्क ती
दुब्लाएको देशसँग रगतको प्रेम सोध्नु छ।

बलि बने कति तिनका शिर बचाउँदा
सुके सुक्सुकाउँदै कति पानी छहारी नै उजाडिँदा,
शोकझैँ देखिने सभाबीच बलिदानको प्रेम सोध्नु छ।

छन् कति हो कति यस्ता सवाल,
छ्न् कति हो कति प्रेमका आहाल,
आफैँलाई नछोडी आत्मालाई प्रश्न गर्न
जोसँग मलाई उत्तर खोज्नु छ।