मञ्जिला श्रेष्ठ

समय कसरी दौडिन्छ, थाहै भएन
जिन्दगीको उतारचढावमा कहिले
उमेर पाक्यो थाहै भएन
काँधमा बोकिरहेका बच्चा कहिले
आफ्नो काँधभन्दा माथि पुगे
थाहा नै भएन ।

जिन्दगीको सफर भाडाको घरबाट
सुरु भएको थियो, कहिले आफ्नो
घरमा आयौँ, थाहै भएन
हामी आमा-बाको जिम्मेवारी
थियौ भने, कहिले हामी जिम्मेवार
भयौँ, आफ्नो बच्चाहरुको
थाहै भएन ।

कालो बक्लो कपाल कहिले
सेतो भयो, थाहै भएन
नोकरी खोज्न ठाउँ-ठाउँमा
हिँड्थे, कहिले रिटायर भए
थाहै भएन ।

पूरा परिवारसँगै बस्दै थियौँ
कहिले हामी दुईको परिवार
भयो, थाहै भएन
आफ्ना लागि केही गरौँ भन्छु
तर शरीरले साथ दिन
कहिले छोडिसकेछ
थाहै भएन ।