मानिसबाहिर हुन्छ
एउटा बेग्लै संसार
जहाँ खेल्दछन् करोडौँ, अर्बौँ उल्का, ग्रह, नक्षत्रहरु
जो जन्माउँछन् प्रत्येक पल
अनगिन्ती नयाँ ऊर्जाहरु

मानिसभित्र हुन्छ
अर्को बेग्लै संसार
जहाँ खेल्दछन् करोडौँ, अर्बौँ अणु, कोषिक, तन्तुहरु
जो उब्जाउँछन् प्रत्येक पल
अनगिन्ती नयाँ संवेदनाहरु

मानिस-मानिस बीचमा हुन्छ
अर्को विचित्रको संसार
जहाँ खेल्दछन्
तिनै अनगिन्ती संवेदना अनि ऊर्जाहरु
जो फैलिन्छन् सर्वत्र,
ठोक्किन्छन्,
फुट्छन्,
अनि रच्दछन्
एक अलौकिक शून्यता
जसमा लुकेको हुन्छ
सारा संसारको रहस्य !