परदेश आउँदा
थोत्रो सुटकेसमा
थोत्रा सपना कोच्दै थिएँ ।

बहिनीले भनी,
मिलाएर राख्नुस् धेरै अटाउँछ
चाहना होला
केही सपना अझै अटाए
सायद विपनामा अटाउँथेँ ।

कपुरका डल्ला हाल्दा
कपुर होइनन्
आमाले आफ्ना आँखा राखिन्
भनिन्, यिनले सपना ताजा बनाउँछन्

बाआमाले मुटु झिके जुन पाङ्ग्रा बने
भने, सपना गह्रौँ हुन्छन्
पारि पुर्‍याउन भारी हुन्छ ।

प्रियसीले हात काटिन्
सुटकेसको ह्यान्डल बन्यो
कामना थियो
यी हात समाइरहन पाऊँ ।

भाइले गुड्कायो
भुइँका माटो टाँसिए
भन्दै थिए,
भोलि नयाँ सुटकेसमा टाँसिनु नपरोस्।

आँगन कटिसक्न लाग्दा
प्रियसीले भनिन्, प्रियतम! टाढाको बाटो छ
प्यास लाग्ला
एक बोत्तल यी आँसु लैजानुस्।

आज
केही थान विपना कोच्दै छु
नयाँ सुटकेसमा ।