धेरै दिनदेखि खडेरी चलिरहेछ, चारैतिर धूलो।
बाटो किनारका
रुख-बिरुवा त परै जाओस्, खेत बीचमा रहेका
रुखहरूमा पनि धूलोको
तरेली,
घाँस-वनहरू सुक्न
थालेका छन्।
चरन खेतहरूमा घाँस
खोज्दै गाई-बाख्राहरू
खेतको बीचमा रहेको
त्यो एकमात्र रुखको फेदमा
खर्कँदै आँखा चिम्लेर
सुतिरहेका छन्,
मन मारेर फ्याँ-फ्याँ गरिरहेका छन् कतिपय।
कस्सो बाछाहरू थोरै
रहेछन्।
पहिले कति सजिलै
मुखबाट फिँज निस्कने गरी
घाँस उकेल्थे
तिनीहरूले, यतिबेला छैन।
आँसुका दुई धाराले
भिजेका रौँका धर्का देखेर
मुख सुकाएर बसेका केही
मालिकहरूले पनि
आँसु चुहाए गलकम्बल समाउँदै,
प्यारा गोधनलाई केही
पनि सहयोग गर्न नसकेर।
‘यस्तो त कहिल्यै भएको थिएन’ — कसैको आवाज।
‘हुन्छ नै,
रुखहरू एकातिरबाट
काटेर सखाप पारियो,’
‘नकाट्नु भन्दा मन-कान दिए पो कसैले’ —
कुनै शिक्षित युवाको
आक्रोश।
‘आँखैअगाडि सबै गुमाउनेछौँ’ भन्दै कसैले
साँच्चै नै रोइदिए।
‘ए दाइ, त्यसो नगर्नुहोस्, सबैको एउटै हालत छ,’
कम उमेरको कसैको सान्त्वना।
उदास मानिसहरू वस्तुभाउका नजिकै
शिर निहुराएर बसेका
छन्।
वस्तुभाउले पनि मानौँ
मालिकहरूको मायाको आनन्द लिँदै,
मानिसहरूका हातमा आफ्ना
गलकम्बल, कान,
गालाहरू दल्दै प्रत्युत्तर
दिइरहेका छन्,
शोकाकुल शान्त
वातावरण।
‘आउँछ हौ रातिसम्ममा वर्षा, हेर्नु त
भगवान्को कृपा छैन र ?’ कसैको आशाव्यञ्जक कुरा।
छैन, कतै सानो टुक्रा बादलको पनि निसान छैन।
‘फागुनमा यस्तो अवस्था !’ कसैले दुःखमा भगवान्लाई दोष थोपरे।
उदास मन लिएर धुलाम्मे
साँझमा मानिसहरू घर फर्के।
रात कति बेर हो
कुन्नि, चल्न लाग्यो हावाको सुसेली,
बादलको मन्द
गर्जन।
एक थोपा, दुई थोपा; त्यसपछि बिस्तारै टपटप
गर्दै
अनि गड्गडाउँदै बर्सियो
आशाको झरी ।
कसैले थाहै
पाएनन् ।
कसैले आनन्दमा बाँसको
खाटमा थचक्क बसेर
मनको खुसी व्यक्त
गरे
अँध्यारोमै।
बिहान रुख-बिरुवा, घाँस-बन सबै सुकिला,
सुन्दर नीलो उघारो आकाश ।
वस्तुभाउका रौँहरू पनि
चम्किला सफा भएछन् ।
तिनीहरूका मन पनि
खुल्ला र प्रफुल्ल, देख्दै थाहा हुने ।
केही दिनदेखि नखौरिएको
दाह्री खौरेर
सफा लुगा परिधानमा प्रफुल्ल मन र प्रसन्न चित्तले
उज्ज्वल अनुहार भिर्दै
मानिसहरू एकत्रित भए नामघर¹
कसैले नभनेर, कसैले नबोलाईकनै।
नामघर¹: एक सामूहिक पूजास्थल, जो भारतको असममा वैष्णव संस्कृतिको केन्द्रीय हिस्सा हो।
मूल असमिया पर्या कविता: गोपाल चन्द्र हजारिका अनुवाद: डा. देवेन सापकोटा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










