सानो छँदा मलाई दाइहरुले सोधे,
“बाबु, तिमी ठूलो भएर के बन्ने ?”
माथि आकाशमा प्लेन उडिरहेको देखेँ
भनेँ , “म पाइलट बन्ने !”

एकदिन हजुरबुबा बिरामी हुनुभो,
डाक्टरले मलाई सोधे, “तिमी ठूलो भएर के बन्ने ?”
भनेँ , “म डाक्टर बन्ने !”

अलि पछि कक्षामा सरले सोधे, “ठूलो भएर के बन्ने ?”
भर्खर चेखभसँग प्रेम बसेको थियो.. भनेँ, “लेखक बन्ने !”

म पाइलट भैदिएको भए, मेरा सपनाले पनि उडान भर्थे होलान्
डाक्टर भैदिएको भए, यी चोटहरुमा पनि मल्हम लाग्थे होलान्
लेखक भैदिएको भए, जिन्दगीका ती अधुरा कथा, पुरा हुन्थे होलान्

यत्तिका वर्षपछि आज
त्यही प्रश्न मैले
आफ्नो काखमा खेलिरहेको छोरीलाई सोधेँ,
“नानी, तिमी ठूलो भएर के बन्ने ?”
उसले मलाई पुलुक्क हेरी,
अनि मुस्कुराउँदै भनी,
“म ठूलो भएर बाबाजस्तै बन्ने !”