कोमल काया भित्र पत्थर कहाँ पलाउँछ ?
आँसुका सागरले मुटु सधैँ भिजाउँछ,
सहने शक्तिले तिमी संसार तान्छ्यौ,
तर कठोर क्रूरतामा कहिल्यै रूपान्तर हुन्छौ ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
बुद्धले सारा जगत् छाडेर यात्रा गरे,
पत्नी-सन्तानदेखि टाढा दायित्व फ्याँके,
तर तिमी मातृत्व छोडेर भाग्न सक्छ्यौ ?
कर्तव्य र स्नेहबाट आफूलाई छुट्याउन सक्छ्यौ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
सीता हौ तिमी, साहस र सत्यकी नारी,
अग्निपरीक्षामा अडान दिने अनुपम कारी,
तर आफ्नै रामलाई के तिमी आगोमा फाल्छ्यौ ?
समर्पणको डोरीलाई के कहिल्यै काट्छ्यौ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
द्रौपदीझैँ जुवामा अपमान सहिसकेकी,
“कुलटा”, “वेश्या”का शब्द सुनीसकेकी,
तर के तिमी पतिको जीवन दाउमा हाल्छ्यौ ?
सम्बन्धको इज्जतलाई बजारमा बेच्न सक्दछ्यौ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
देवकी हौ तिमी, कंस कहिल्यै बन्न सक्दिनौ,
पद्मिनी हौ तिमी, नरसंहार गर्न सक्दिनौ,
पाञ्चाली हौ तिमी, अरूलाई निर्वस्त्र पार्दिनौ,
गिरिजा झैँ कसैलाई आरीले चिर्न सक्दिनौ।
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
तिमी प्रकृति हौ, दिन मात्र सक्दछ्यौ,
संसारलाई माया गर्दै जीवन सजाउँछ्यौ,
तर के तिमी केवल आफ्नै लागि बाँच्छ्यौ ?
पुरुष झैँ कठोर घमण्डी हृदय बोकेर हिँड्छ्यौ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
कोमल काया भित्र पत्थर कहाँ पलाउँछ ?
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।
ओ नारी, तिमी कहिल्यै पुरुष बन्न सक्दिनौ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 