जहाँ देख्दा सत्य झल्किन्छ,
तर स्पर्श गर्दा हराउँछ।
भएको घटनाको सत्य खोजीँदैन,
अब सजावटमै बिलाएको छ
मानिसको दृष्टि।
सत्य र भावना
केवल विलासितामा लुकेका छन्।

लेखिन्छ, भनिन्छ, सम्झाइन्छ,
तर बुझ्ने चेतना सुतेको छ।
भावनालाई बुझ्ने हृदय मरेको छ।
शब्दहरू जवान भएका छन्,
तर मन शून्य छ,
मौन बस्नेहरूलाई आज कमजोर मानिन्छ।

अब त लाग्छ
लिलामीको बजारमा टाँगिएका छन्,
शब्दहरू
नाफा र घाटाको तराजुमा तौलिइन्छ भावनाहरू !
आदर-सम्मानको मूल्य मापन हुन्छ
नगदमा, आवाजहरू चर्का छन्,
तर हृदय सुतिरहेको छ।

कसैको शोक व्यङ्ग्यको मञ्च बनेको छ,
कसैको निजी जीवन भिडन्तको दृश्य बनेको छ।
नाटकका संवादझैँ बेचिएका छन्,
मानिसका पीडाहरू।
हुँदै नभएका कुरा पनि सनसनीको कथा बनेको छ।
संवेदना
अब मनोरञ्जनको उपशीर्षकमा बाँधिएको छ।

यो अन्धो युगमा
सत्यभन्दा ठूलो बनेको छ
आवरणको सौन्दर्य।
मनभन्दा मीठा देखिन्छन्
झुटा दृश्यका सपनाहरू।
आवाजहरू चर्का छन्,
तर आत्मा सुतेको छ।
बत्तीहरू बलिरहेका छन्,
तर उज्यालोको अर्थ हराइसकेको छ।

कसरी भनूँ
युग त चल्दै छ,
तर जीवन लडखडाइरहेको छ।
तन जिउँदै छ,
तर मन मरेको छ।
हाँसोहरू गुञ्जिएका छन्,
तर आत्मा रुँदैछ।
साँच्चै — चेतना मरेको छ,
महसुस गर्ने हृदय कतै हराएको छ।

के हामी साँच्चै बाँचिरहेका छौँ?
के हाम्रो मन र आत्मा
आपसमा जुधिरहेका छैनन् ?
यो जीवनको चक्रमा
किन हामी अनुभूति खोज्दै
अभिव्यक्तिमा हराइरहेका छौँ?

सायद हामीलाई उज्यालोले
प्रभावमा पार्न सकेन,
त्यसैले, कालो छायाँभित्रै रुमलिइरह्यौँ।
जहाँ सत्य बोल्नुभन्दा मौन रहन सजिलो छ,
जहाँ भावनाभन्दा देखावटी मुस्कान ठूला बनेका छन्।

तर म चाहन्छु
फेरि जागून् ती कहिल्यै नब्युँझिएका भावनाहरू,
अनि फेरि जागोस् आत्मा।
मौन हृदयले फेरि महसुस गरोस् जीवनको मीठो स्पर्श।