गरिबी
नेपालको आकाशमा पहाडभन्दा ठूलो छाया बनेर झुन्डिन्छ—
जहाँ मन्त्रीहरूको भाषण
एउटा पहेँलो कागजजस्तै
प्रत्येक वर्ष टल्किन्छ,
तर जनताको छानो बतासले च्यातिरहनछ।
गरिबी काठमाडौँबाट बनाइने योजना होइन,
यो त रोल्पातिर जन्मिने भोक,
डोल्पातिर उभिने पाखुराको हड्डी,
र तराईमा पसिनाको नुनिलो स्वाद हो।
गरिबी कहिल्यै रित्तिँदैन,
किनकि श्रमको मूल्य
अहिलेसम्म पनि राजनीतिक दलका
घोषणापत्रले देख्न सकेको छैन।
गरिबी चुनावको समयमा
दुई बोरा चामलजस्तै वितरित गरिन्छ—
“लिनुहोस्, भोट दिनुहोस्” भन्ने शैलीमा,
र चुनाव जितेपछि सुनिन्छ—
भ्रष्टाचार मौलाउँदै छ।
गरिबी भनिएको थियो—
संविधानले हटाइदिन्छ,
तर संविधान गरिबले बुझ्ने
भाषामा कहिल्यै लेखिएन।
यो देशमा “अधिकार” शब्द
धनीका प्रेस वक्तव्यमा छापिन्छ,
तर गरिबका पाखुरामा कहिल्यै छापिएन।
गरिबी मौनताको कथा होइन,
यो त जनताको मुटुमा
दन्किएको सिम्सिमे आगो हो—
जुन एक दिन नीति-निर्माताहरूका
महँगा कुर्सीमा भतभती पोल्न थाल्छ।
जब खेतमा उभिएको
एक जना किसानले भन्छ—
“म मेरा बालबच्चा म जस्तै दुःखी भएको हेर्न चाहन्न”,
त्यही दिन पसिना पिउनेको शासन हल्लिन थाल्छ।
जब दोलखा,
गोरखा र हुम्लाका ठेला उठेका हातहरूले भन्छन्—
“हामी अधिकार माग्दैनौँ, खोसेर लिन्छौँ”,
त्यही दिन, इतिहास नयाँ शैलीमा लेखिन्छ।
गरिबी पहाड जस्तो स्थिर होइन,
यो त चर्किएको राजनीतिक चट्टान हो।
जुन चट्टान जनताको हातले फोरेपछि मात्र
नयाँ समाज पसल, खेत, कारखाना
र विद्यालयमा समानताको नयाँ
भाकामा गीत घन्किन थाल्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




