यहाँ जन्मने धर्तीका जीव–जन्तु सबैले,
बुढा, बालक, युवा, जवान, गरिब–धनी जनले।
जन्मिए पनि आउनुपर्छ यो संसारमा रित्तो,
जन्मेपछि मर्नैपर्ने — यो जगतको रीत कस्तो!
प्रेम–सद्भाव बाँडौं, दिनदुखीलाई गरौं माया,
सबै छोडि जानुपर्छ, एकदिन हराउँछ आफ्नै छाया।
फूलझैं ओइलिने यो जिन्दगी हो भनेर,
जानु छ एकदिन परलोक — नौ डाँडा तरेर।
अपाङ्ग, वृद्ध, रोगी, पापी वा अति नै कुरूप,
सबैको सेवा गरौं, अनि बनौं महापुरुष।
स्वर्गकी अप्सरा होस् वा एकादेशकी रानी,
घमण्ड नगरौं रूपको — एकदिन भइन्छ खरानी।
रुनेछन् सबै देह देखेर चितामा जब,
तिम्रो कर्मको प्रशंसा गर्नेछन् मानिस तब।
दुष्ट मान्छे पनि कमाउँछ मर्दाका मलामी,
यस्तो कम गरौं, सबै लोकले दिऊन् सलामी।
आजैदेखि जगाऊँ मनबाटै सेवाको भावना,
सबैको प्रिय बनौं, चलाऊँ आफ्नो नामना।
तिमी लाखौं पैसा खर्च गरी तिर्थ–व्रत गर्ने,
हे दैव! नजिकको छिमेकी खान नपाई मर्ने।
सेवा छोडी जो गर्छ बढी धर्म–कर्म,
देखावटी धर्म गर्दा उसलाई लाग्नुपर्ने शर्म।
स्वार्थी दुनिया छ यहाँ, गरीबलाई बाँच्न गाह्रो,
जसले बन्छ सत्य–सेवा, उही बन्छ प्यारो।
गर्दैन भेद कहिल्यै पनि काल आई,
छोड्दैन आखिर जस्तोसुकै धनवानलाई।
गरी लोभ, मोह, रीस, राग र तृष्णा,
सेवा गरौं सबैको — नजगाऊँ वितृष्णा।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




