(लघुकविता)

त्यो मान्छे मेरो चोकमा
कहिलेकहिँ गीत गाउन आउँछ
जसले मलाई
कि त मन छोएर चिन्छ
कि त तन छोएर चिन्छ

उसको आँखामा दृष्टि छैन
ता पनि त्यो आँखामा – मेरो जस्तै
आशा निराशाको पानी छ
संन्सार नदेखेको – तर
सुन्दर सपनाहरु देखेको
थरीथरिको कहानी छ
कस्तो विश्वास लुकेको छ कुन्नी -ऊ भित्र
ढुङ्गाको प्रहार पनि चोट नलागे सम्म
फूलकै थुँगा सम्झिरहने बानी छ

बस : यहि बानीमा फरक छ
उसको र मेरो आँसु र मुस्कानको कहानीमा

उसको आँखामा साउन भएपनि
ओंठमा औसतभन्दा बढी मुस्कान हुन्छ
मेरो ओंठमा मुस्कान भएपनि
आँखामा औसतभन्दा बढी साउन हुन्छ