ब्रह्माण्डमा उदायो
एक तेजस्वी ज्योति।
शक्ति स्वरूपा, मातृरूपा देवी भगवती।
सृष्टि र धर्मको
रक्षा, पापको नाश गर्न,
देवीले धारण गरिन्
नव रूप-नव वर्ण।

शैलपुत्री शुद्धतामा, ब्रह्मचारिणी साधनमा,
चन्द्रघण्टा साहस, कूष्माण्डा ती सिर्जनामा।
ममत्वमा फैलिएकी देवी
स्कन्दमाता,
निर्भीक भई युद्ध
गर्छिन् कात्यायनी उता।

शान्तिको सन्देश दिँदै
महागौरी कृपा गर्छिन्,
आध्यात्मिक यात्रा
गर्दै करुणा र प्रेम छर्छिन्।
कालरात्री प्रकट
भइन् निशिथनीको गर्न अन्त्य,
सिद्धिदात्रीको
आशिर्वाद, जीवनको बुझी सत्य।

धूम्रलोचनको आँखा
धुँवाजस्तो भयंकर,
अधर्मको जगजगी थियो, जताततै नरसंहार।
सिंहझैँ अघि बढिन्
नवदुर्गा गर्जिएर,
मरी गयो राक्षस, मर्यो उसको अहङ्कार।

थिए दानव मधु कैटभ, जलबाट जन्मिएका,
वेद चोरी
ब्रह्माजीलाई त्रास दिन तम्सिएका।
माया र मोहमा लिप्त, छलकपटका खानी,
दुर्गाले नै युद्ध
गरिन्, धर्मको रक्षक बनी।

रक्तबीज बनी आयो, भयको नयाँ कथा,
एक थोपा रगतले नै, ब्युँताउँथ्यो लाख व्यथा।
शक्ति सीमित लागे
पनि दुर्गा थिइन् सकल जगत्,
काली बनी राक्षस
गणको पिइन् तातो रगत।

जिब्रोमा आगो बालेर,
आँखामा बोकी क्रोध,
बाहिर आक्रोश तर
हृदयमा करुणा बोध।
शक्ति र शान्तिको
गरिन् नवदुर्गाले पदार्पण,
धर्मको साक्षात्
स्वरूप, जीवनको समर्पण।

(नोट: ब्ल्याकटाउन, अष्ट्रेलिया २० सेप्टेम्बर २०२५ मा आयोजित नवदुर्गा साहित्यिक कार्यक्रममा वाचन गरिएको  कविता।)