तिमी ओसिलो जमिनमा उम्रन सक्छौ
तिमीलाई न गर्मी मनपर्छ न त चिसो
तिमी न कठोरताभित्र रम्न सक्छौ
नत ठूलो हुने अभिमान छ तिमीभित्र
तिमी कोमलताको प्रतिक
तिमी जलिय र थलिय
बनस्पति बीचको पुल ।

तिमी न जल्न सक्छौ घामले भतभत
तिमी न भिज्न सक्छौ तुसारोले तपतप
तिमी न्यानो खोज्दै बीचमा
उम्रन्छौ
बढ्छौ
सन्ततीहरू निर्माण गर्न
गेमाकपहरू बनाउँदै शरिरमा
चिया पिउने कपजस्ता
साना ढीकारुपी
कप बाट फुत्त निस्कन्छन गेमाहरू
बिचरा ! गेमाहरू
तिम्रो अस्तित्व कसले बुझ्छ ?
तर प्राण भरेर भरर्र उम्रन सक्छौ
फेरि नयाँ जीवनको सुरुवात हुन्छ
बढ्छौ
फैलन्छौ
हरियो कार्पेट ओच्छ्याए जस्तो
बनाउछौ जमिन
आहा ! कस्तो सामर्थ्य तिम्रो !

गर्मी पलाएर सकिन लाग्दा
सरदले स्वागत गर्छ
तिमी स्वाबलम्बी बन्छौ
उमार्छौ स्पोरोफाइटहरू
प्रकृतिको बरदान
दुइखाले कोशिका चरित्र भएका
बनोटहरू भिरेर
हाँस्छौ
हाँस ! मज्जाले हाँस !
नदेखिने तिम्रो रुप छोपेरै हाँस ।

रहस्यले भरिएको तिम्रो
जीवन चक्र
एउटा स्कुले ठिटो
निर्वाद पढ्छ
“अल्टर नेसन अफ जेनेरेशन” भनेर
बुझ्नै पर्छ तिमीलाई
जीवन बुझ्नचाहनेहरूले

सानो भएर पनि
अलग्गै अस्तित्व छ तिम्रो
भाले र पोथी बोटहरू
गेमेटोफोरहरू ओढेर
ठ्याक्कै छाताजस्ता
एन्थेरिडिया र आर्केगोनियाहरू
ब्रम्हा र सरस्वतीजस्ता
एडम र ईभ जस्ता
नयां समाजको निर्माण गर्न
उद्धत मार्केन्सिया
लिभरवर्ट भित्रको लिभरवर्ट
वा ! मार्केन्सिया ।