तिमी चुनावमा गएको बेला
जस्तो थियो मेरो गाउँ
त्यस्तै छ आज पनि
तिमी गाउँ नफर्किएको पनि बर्षौँ भैसकेछ
मलाई माफ गर्नुहोला
तिमी आफैँ गाउँबाटै भयौ बेपत्ता र अलपत्र
मेरी सानी अन्जान छोरीले च्यातिछिन् तिम्रो घोषणपत्र
भन्थ्यौ नी बर्षातका
हिलो झैँ हिलाम्मे भै टाँसिएका यी गाउँलेका दुःखहरू
खेतमा सिचाईँ गरेजस्तै गरी सफा हुने गरी पखाल्छु

तिमी गाउँमा आयौ सोझा गाउँलेलाई एक आपसमा लडायौ
र झन् दु ःख थपेर गयौ
आज भोलि त मर्दा पर्दा पनि गाउँले आउन छाडे ।
उस्तै छ यो बाटो जस्तो तिमीले भोट माग्ने बेला थियो

भर्खरै त्यो तारे भीरको सानो बाटोबाट लडेर
हर्के दाइको ज्यान गयो
पाँच ओटा भैँसी खसे,
दुइटा बच्चाको लाश भेटिएन
तिमीले बाटोलाई बनाउँछु भन्ने घोषण गरेकैले
त्यति सालिन बाटोले तिमी तिर फर्केरै
रिसले आफ्नो छाती च्यातेको छ
मौका पाए तिमीलाई नै उच्छिट्याउन तयार छ ।
निधार खम्चाएका गैह्री खेत
पानी नपाएर आँत सुकेका घरबारी
खडेरीले निलेका पाखाहरू
आज पनि बाँझै छन्
तिमीले सिँचाइ ल्याउँछु भनेर
घोषणा पत्रमा नक्सा कोरिएको बैरागी खोला
तिम्रो नाम लिँदा मात्रै
बौलाउँदै ,रिसाउँदै र चिच्याउँदै ओरालो झर्छ ।

खोलको पानी पिउँदा पिउँदा
गाउँलेहरू अकाल मृत्यु भएको देखेर
तिमीले नै भोट माग्दा
घरघरमा कलधारा ल्याउने नक्सा कोरेर
गाउँको बीच चौतारीमा झुण्ड्याएका थियौ
आज त्यो नक्सामा माकुरीले जाल बुनिसकेको छ
धमिराले प्वाँल पारिसकेको छ
नक्सामा कोरिएका रेखाहरूबाट
आवेगका लाभाहरू उठ्दैछन्
तर तिमी गाउँ फर्किएनौ

मेरो सानो छोरा तिमीले उद्घाटन गर्ने भनेको
सुविधासम्पन्न विद्यालय खोज्दैछ
तिम्रो घोषणापत्रमा ।
गाउँलेले बर्थिङ सेन्टर बनाउन
तिमीलाई निःशुल्क दान गरेको जग्गामा
आज न स्वास्थ्य चौकी छ न खेतिपाति
गर्भिणी आमाहरू दाँयाँ हातको मुठीमा माटो लिएर
बाँयाँ हातलााई आफ्नै छातिमा बजार्दै
तिमीलाई सरापिरहिछिन्
तिमीले भाषणमा बोलेके उज्यालो बिजुली बत्ती हेर्न
हातमा दियालो बोकेर
उत्साहका साथ सडकमा दौडिरहेछन् स्कुले नानीहरू
तिमीले कृषि क्रान्ति गर्छु भनेको दिनदेखि
खुसियाली मनाइरहेका थिए गाउँमा
हँसिया,कोदालि ,सब्बल गैँची र बन्चराहरु
तर तिमी गाउँ नफर्किँदा
खियाका शिकार बनिसकेकाछन् सबै हतियारहरु
माफ गर्नुस् मलाई
तिमी आफैँ गाउँबाट हुँदा बेपत्ता र अलपत्र
मेरी सानी अन्जान छोरीले च्यातिछन् तिम्रो घोषणा पत्र ।