बटुवा र बाटोहरूलाई
घुम्ती र दोबाटोहरूलाई
भरिया र भारीहरूलाई
पसिना र छहारीहरूलाई
भेट गराउने चौतारी,
आफू बिछोडिएको भने
बर्षौँ भइसक्यो ।
यो चौतारी प्रेमीहरूको प्रेमको साक्षी बस्दाबस्दा
बूढो भइसक्यो ,
तर ती प्रेमीहरू फर्केर आएनन्,
जसरी भगवानलाई साक्षी राखेर
कसम खानेहरू फर्किएर आउँदैनन ।
हरकोही चौतारीमा विरह सुसाउँछ,
तर , आफ्नै छातीमा रोपिएका
प्रेमका वरपीपलहरूमा
कहिले वर मर्छ
कहिले पीपल मछर्
कसैलाई सुन्नु छैन चौतारीकै छातीमा हुर्काइएका
वरपीपलका दूर्घटित प्रेम कहानीहरू
तिमीहरू आउँछौ
चौतारीको शितलता खोसाखोस गर्छौ
आफूले खुब प्रेम गर्ने गरेको बताउँछौ र जान्छौ
कहिलेकाहीँ आफै चौतारी बनेर हेर न
जहाँ, उपहारस्वरूप आउँछन केही सुस्केराहरू
तिमीलाई साक्षी राखेर बन्छन् नयाँ जोडीहरू
तिम्रै काखमा आएर भक्कानिन्छन विछोडहरू
तब लाग्नेछ ,
अब त चौतारीका कथाहरु सुनिदिऊँ
जसका, तिम्राभन्दा धेरै व्यथाहरू छन्
तिम्राभन्दा लामा विगतहरू छन्
तिम्राभन्दा गहिरा प्रेमहरू छन्न
तैपनि चौतारीले चौतारी हुनुको कर्तव्य भुलेको छैन ,
आफू हुनुको महत्त्व बिर्सेको छैन
तर तिमी ?
तिमी ,मान्छे हुनुको महत्त्व भुलेर
त्यही चौतारीकै पिपलको एक हाँगामा
प्रेमको नामको पासो लगाएर
झुन्डिरहेको हुन्छौ ।
जबकि चौतारी स्वयम बर्षौँदेखि एक्लो छ,
तर बाँच्न बिर्सिएको छैन ।
हेरन चौतारीले झन्
आफ्नो कथा भन्ने साथीनै पाएन
तैपनि सहृदयी स्वागत गरिरहन्छ
तिम्रा हरेक आगमनहरूमा ।
जसरी तिमी कोही अरुलाई स्वागत गथ्र्यौ ।
अनि सुन न , म पनि त्यही चौतारी हुँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।