कति दुःखी होलान् ती मान्छेहरू
जसले
बिहान सबेरै ड्युटीमा हिँडेको घामलाई
बिदाइ गर्न पाउँदैनन्
जसले
साँझ पर क्षितिजबाट
घर फर्किरहेका चराहरूलाई
स्वागत गर्न पाउँदैनन् !
ती मान्छेहरू
जसले चौतारीका ढुङ्गाहरूलाई
धुलाम्मे देख्छन्
जसलाई
वर पीपलको प्रेमिल संवाद सुन्ने फुर्सद छैन
जसलाई
घाँसे मैदानमा फैलिएको
हावाको स्वाद थाहा छैन !
पक्कै दुःखी होलान् ती मान्छेहरू
जसलाई
खोलाको शब्द र सङ्गीतमा
चराहरूले गाउने गीतको भाका थाहा छैन ।
घरदेखि घाटसम्मको जिन्दगीको यात्रामा
केही मलामीहरू चौतारीमा थिए
केही ‘साइँली आमै’ को चियापसलमा थिए
र केही त
भट्टीपसलमा समेत थिए !
पक्कै दुखी हुँदा हुन् ती मान्छेहरू
जस्लाई आफ्नो जिन्दगीभर
त्यतातिर हेर्ने फुर्सद नै भएन !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला