विनोद नेपाल

कोरोना बोकिरहेछन् हवाईजहाजहरु
कोरोना बोकिरहेछन् रेलहरु
कोरोना ओसारिरहेछन् कन्टेनरहरु,
र कोरोना नै ओसारिरहेछन्
ट्रक, बस ट्याक्सी–ट्याम्पोहरु ।

यस्तो लाग्दैछ अचेल
मन्द पवनमा कोरोना छ
कलकल बग्ने नदीमा कोरोना छ
घाम–जूनमा कोरोना छ
झरना–छहरामा कोरोना छ
बजारभरि कोरोनाकै भीडभाड छ
कोरोनाकै गस्ती छ ठाउँठाउँमा
सर्वत्र कोरोना कुँदिरहेछ
यसैले उर्दी छ,
ननिस्कनु घरबाहिर ।

कृपया हेक्का राख्नुहोला,
राम्रो छैन समय
संसार कोरोनामय छ,
हरेक मोड र घुम्तीमा,
हरेक चोक, गल्ली र चौतारीमा,
हरेक आँगनमा उभिएको छ कोरोना
त्रास बनेर,
कृपया हेक्का राख्नुहोला
थाहा छैन
कहाँनेर झ्वास्स भेटिन्छ
कतिखेर जम्काभेट हुन्छ ।

लाग्छ, समय उल्टो चलिरहेछ,
आशा, आकांक्षाको पहाड ढलिरहेछ
जीवनको गति र लय रोकिएको छ ।

तर नहड्बडाउनु
नचुक्नु,
नझुक्नु,
उदाउनेछन् स्वस्थ घाम–जून
अनि
छाउनेछ उज्यालो
हार्नेछ कोरोना एकदिन समयसँग

रंगीन हुनेछ दुनियाँ
जीवनले गति लिनेछ ।