साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ए फूल, तिमी को हौ ?

Chovar Blues Mobile Size
विष्णु निष्ठुरी

अप्सराको शीरमा तिमी नचढी
न सौन्दर्यमा निखार आएको छ
न त इन्द्रको दरबार नै मगमगाएको छ,
तिम्रो रुपको वर्णन गर्ने शब्दहरु
र, बखान गर्ने भाषाकै कमी भैरहेको छ
ए फूल, तिमी को हौ ?

चानचुन एक धार्नी माटोमा
अँटेकी छ्यौ गमलामा,
जल, मल र करकमलको छैन कुनै परवाह
सुवासले यत्तिकै मगमगाएकी छ्यौ
जगमगाएकी छ्यौ सौन्दर्यले
तिमीलाई छोएर बग्न लालायित छ पवन
लोभी भँवरा र कंजुस–लुच्चा मनुष्य आँखाहरु
चुम्न, लुट्न र निमोठ्न चाहन्छन् तिमीलाई,
तिमी भने मग्न छौ मुस्कुराएकी
उदात्त हाँसो खित्का नछाडि
तिमी सर्वत्र छाएकी छ्यौ,
तिम्रो सीमापार सौन्दर्यको आभाले
मलाई असह्य आनन्द महसुस भैरहेको छ,
भन त,
ए फूल, तिमी को हौ ?

तिमीलाई स्वच्छन्द मुस्कानको झरना पठाउने
को लुकेको छ उ माथि त्यो आकाशमा
गमला नै ब्रम्हाण्ड ठानेर–मानेर फैलिने
कसले उपहार पठाएको तिमीलाई धैर्यको !

जमिनको कुनै पनि आयतनले असन्तुष्ट
म मान्छे–
धरती उधिनी रहेको छु
माटो खन्याएर सागर–महासागर पुरिरहेको छु
चन्द्रमामा ओर्लि नै सकें
ग्रहहरुमाथि निगरानी बढाएकै छु
तर.. तर किन हाँस्न सकिरहेको छुइन
म तिमी जस्तै ?
कसले खोसिरहेको छ मेरो प्रशन्नता
किन उदाउँदैन मेरो आकाशमा चन्द्रमा
औंसीले पर क्षितिजसम्म ढाकेको छ ।

तिमी भने असीमित हर्ष र सौन्दर्यले छताछुल्ल
आकाशका ताराहरुलाई समेत प्रकाशरहित बनाउने
भन त भन
ए फूल, तिमी को हौ ?

प्रतिक्रिया
Loading...