जीवनफूल

 

जगन्नाथ पौडेल

हरियो दुबो
शीतका टुक्राहरू खाएर
शीतभन्दा बेसी हाँसिरहेछ
बगैंचामा

फूललाई छुन पाएर
या भनौँ
आफू नै फूल भएको देखेर
उता
फूलहरू
हाँसेरै फुलिरहेछन् मौनतामा
फुलेरै हाँसिरहेछन् कोमलतामा
त्यति मात्र कहाँ हो र
मुस्कुराउँदै झरिरहेछन् शिष्टतामा
मुस्कुराउँदै मरिरहेछन् सुन्दरतामा

बस्,
फूल भन्नु फुल्नु र हाँस्नु त रहेछ !

 

 

मृत्युको दिन

 

न त्यो आँगनछेउ

तिमीले पानी खुवाएको फूल रुनेछ
न त्यो करेसाबारीमा तिमीले हुर्काएको
आरुको पात झर्नेछ
न तिमीले हदै माया गरेको
भित्ताको उनको फोटो हाँस्न नै छाड्ने छ

अरु त अरु
तिम्रै लास पनि हाँसिरहेको पाउनेछौ
आँगनको डिलमा
फरक यत्ति हो कि
तिमी हाँसोमै हाँसिरहेका हुनेछौ
तिनीहरू रोएझैं हाँसिरहेका हुनेछन् ।

भर्जिनिया, अमेरिका