हलीदाइ !
सुनिदेऊ न कथा
बाँझो भूमिको,
मेरो पनि रसाउँछ अन्तर-मन
फालीको धारिलो चुम्बनको पर्खाइ
मेरो कायामा पनि रहन्छ
तर
तिमी नजिकै ल्याएर हलो
सीमा ठान्दै फर्किन्छौ बगलबाट
मेरो धड्कन मात्र बढ्छ
अनि प्यास चुलिन्छ, छुवाइको
हलीदाइ !
सुनिदेऊ न कथा
बाँझो भूमिको ।
मेरा रहरमा पनि
बयली खेल्छन्, गहुँका बालाहरू
फुल्छन्, तोरी र सर्स्यूँ
हुर्किन्छन् मकैका बोट
सिमी र फर्सी लहरिन्छन्
तर यथार्थ ?
यथार्थमा केवल उम्रिन्छ लेउ
म माथिको पत्थरमा
जो मलाई थिचिरहन्छ
दबाउँदै मेरो पुकार ।
म तिमीलाई
वर्षौँदेखि बोलाइरहेछु
आऊ न हलीदाइ
चोरेर मेरो कौमार्य, एउटा पुण्य गर
उर्वर बनाऊ मलाई
लहरिने अन्नलाई, मानौँला म जीवनको सहारा
मेरो बिन्ति
यो सम्पूर्ण प्यास
उपहार तिमीलाई
मलाई चाख्न देऊ केबल
दरिलो फालीको चुम्बन ।
धापाखेल, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला