म कसैलाई यत्ति धेरै प्रेम गर्थें
धेरै नै…
एउटा समय थियो
मलाई यस्तै लाग्थ्यो
जब उसको ठाउँमा आफूलाई
आफ्नो ठाउँमा उसलाई
राखेर बुझ्न थालें
मलाई कसैले यति धेरै प्रेम गर्थ्यो
जसको बदलामा
म उसलाई आफू बनाउन खोज्थें
जुन चोटहरू
म एक पल सहन सक्दिनथें
ति चोटहरू कसैले
आफ्नो प्रेमको खातिर हजार सहेको हुन्छ
त्यहाँ प्रेम कहाँ थियो ?
भनेर खोज्नु जति
बेकार काम अरू के हुन सक्छ ?
जस्तो
घनले ढुङ्गा हानेर
ढुङ्गा फुटेपछि
घनले भन्छ,
‘त्यो त मैले
उसलाई बलियो बनाउन हानेको हो
माटोलाई पकाएर थिचेर
ढुङ्गाजस्तै बलियो बनाउन सकिन्छ’
तर
ढुङ्गालाई फुटाएर माटो जति बलियो बनाउन सकिँदैन
मैले गर्ने प्रेममा
ढुङ्गालाई फोरेर
माटो बनाउने प्रयास रहेछ
उसको प्रेममा
माटोलाई पकाएर सम्बन्धलाई
ढुङ्गाजस्तै बलियो बनाउने रहेछ
ऊ भएर हेरेपछि
म कसैलाई औधि प्रेम गर्थें
भन्नुअघि
मलाई
कसैले औधि प्रेम गर्थ्यो
भन्न मन लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 







