सन्तोषकुमार पोखरेल

आज पूर्व दक्षिण कुनाबाट एउटा ईन्द्रधनुष उदायो
म पूर्वतिर बढ्दै थिएँ एकसुरमा
म उसलाई हेर्न थालेँ
ऊ मैलाई हेर्दै थियो
कस्तो कस्तो बेसुरा तालमा,
सायद मेरो हालमा
ऊ हाँसिरहेको थियो
एउटा आफैंमा असहाय खूँडे
ईन्द्रधनुष !

भख्खरै ऊ पर पल्लो गाउँमा
अघि म टहल्न गएको ठाउँमा,
एउटा आफन्तबाट अपहेलित
भावनाले उद्वेलित,
मैले उसलाई सडक पेटीमा देखेँ
मैलाई हेरिरहेका थिए
मुसुमुसु हाँस्दै शायद मेरो हालमा
पाजी पामरका गुच्चे अँखाहरू।

एउटा खूँडे निस्सहाय ईन्द्रधनुष
अनि यी धूमिल अँखाहरू,
यहाँ आलाप गर्नेछन् आआफ्नै भाखाहरू
त्यो खूँडे ईन्द्रधनुष र ती जोइटिङ्ग्रेका आँखाहरू!
तादाम्य छन्, दुवै धपक्क बल्छन्
अनि धिप्प निभ्छन् ।

बलिराख्न गारो छ यिनलाई
आँखाबाट फाल्छन् तूस
विचरा पामरहरू र खूँडे ईन्द्रधनुष !