नर्स,
मलाई थाहा छ
आज तिम्रो अस्पतालको बास
भोलि हस्पिटलको आसपास
हिमाल जत्रो लास देख्न नपरोस् भनेर हो।
अनि
आज तिमी तिम्रो घर आवतजावत मन्द भएको
भोलि यो देशमा कोरोनाका कारण
मृत्यु हुनेहरुको दर बन्द होस् भनेर हो

कोभिड सँगको लडाइँमा अरुलाई बचाउन हिँडेकी तिमी
आफू नै कोरोनासँग विजयी हुन्छ्यौ या हुन्नौ
म भन्न सक्दिनँ
तर तिम्रो विजय र पराजयसँग जोडिएको मेरो जीवनले
घरमा बसेर यही प्रार्थना गरिरहेको छु कि
तिमीजस्तै चिकित्सा पेसामा लागेका
हिउँजस्तै सेता जवानहरूले
मृत्युजस्तै काला कोरोनाहरुलाई परास्त गरुन् भनेर।

नर्स,
मलाई थाहा छ कोरोना सर्छ भनेर
अनि सबैलाई थाहा छ
तिमी कोरोना सार्न होइन, मार्न हिँडेकी हौ भनेर
सुन्छु,
तिमी नै फेरि
सामाजिक बहिस्कारमा परेकी छौ रे

तिम्रो जिम्मेवारीको झोलामा तिरस्कारको कोसेली राखेर
तिम्रो घरसम्म पुर्याउने मुर्खहरुलाई कस्ले भनिदिने,
उनीहरु गैरजिम्मेवार भएर नै
कोरोनाको कालो बादल कुना-कुनामा मडारियर
मृत्युको वर्षा हुँदैछ भनेर।

नर्स,
म कसरी भनूँ,
मृत्युलाई दाउमा राखेर
बिरामीको घाउमा मलमपट्टि गर्न
दिनमा पनि अनि रातमा पनि नाइटिङ्गेल बनेर
आफ्नो जिम्मेवारीको सेतो पोशाकमा
हिउँजस्तै पग्लिइरहेकी तिमीलाई
बुझिदिने
तिम्रा लागि भगवान पुजिदिने
एउटा प्राणी यो बेला छट्पटीमा छ भनेर

मलाई थाहा छ
अमानवीय तरिकाले रगत बगाउनु पर्छ
भनर भएका बातहरु भन्दा
अस्पतालको बेडमा बगेको रगत रोक्नु पर्छ
चलेका तिम्रा हातहरु कयौं गुना पवित्र छन्

हस्पिटलमा पिपिईले छोपिएकी
यो नारीको जिम्मेवारी
अहिले जति देशलाई कहिले चाहिएको थिएन
यो कुरा मेरा शब्दहरु देशको कुनाकुना पुर्याउँदै छन्
उसलाई ताली दिनुस्
बिरामीको मर्म बुझेर
आफ्नो नैतिक धर्म पूरा गर्नु भनेर
नकि टोलटोलमा स्वास्थ्यकर्मी हटाऊ अभियान !!