आमा कत्ति जाति हुन्थ्यो नि
म बाहिर निस्कनु अगाडि
यदि मैले मेरो योनिलाई
तिम्रो हातमा सुम्पिन मिल्ने भए
सायद तिमीले तिम्रो पटुकीमा बाँधेर
बडो जतनले सम्हालेर राखिदिन्थ्यौ होला
मेरो त्यो योनिलाई
म नफर्केसम्म
तिमी पनि निश्चिन्त भएर बस्थ्यौ होला
अनि आमा म ज्युँदो घर फर्कने
ग्यारेन्टी पनि त हुन्थ्यो !
मेरो चितामा लागेका
मेरा योनिबाट बगेका ती रगतका भेलहरु
अनि मेरो मृत्यु
यो समाजमा किन यति सस्तो हुँदैछ आमा ?
सजिलै स्त्री योनिलाई गर्भमै हत्या गर्ने
यो समाजका पहरेदारहरु
किन सक्दैन आमा ती ब्वाँसाहरुको
गर्धन छिनालेर चौबाटोमा झुण्ड्याउन
आमा तिमीले पुज्ने भगवान् यदि भएको भए
किन सक्दैन रोक्न
मेरो मृत्युलाई
मेरो आत्मा मात्र फिर्ता आउने भए
म त्यति सजिलै कहाँ छाड्थेँ र ?
ती ब्वाँसाहरुलाई
तर आमा यहाँ त न भगवान् छन्
न त आत्मा नै
म एउटा छोरी
जहाँ मसँगै हिँड्ने मेरो योनिले
ग्यारेन्टी किन गर्न सक्दैन
म जिउँदो घर फर्कन सक्छु भनेर
हिजो पनि एउटा छोरीलाई मारियो
आज मलाई मारियो
भोलि फेरि अर्को छोरी मारिनेछ
तर आमा कहिलेसम्म
तिम्रा कोखहरु यसैगरी लुटिँदै मारिने
ए उन्मत्त भैरवहरु
तिम्रा बलिष्ठ हात पाखुराहरु
के मेरो घाँटी निमोठ्नको लागि थियो
भन न आमा किन ती उन्मत्त भैरवहरूलाई
यो समाजले खुल्ला छोड्छ
निहत्था एउटी छोरीको हत्या गर्न
थोरै पनि दया आउँदैन
मेरो कारूणिक चित्कारमा
मेरो चितासँगै जल्ने ए अग्निकुण्डहरू
आखिर कहिलेसम्म
एउटा छोरीको देह जलेको
तमासालाई हेरिरहन्छस्
जहाँ मेरो मृत्युको कारण
त्यही एउटा योनि नै किन बनिदिन्छ
जसलाई आमा म तिम्रो हातमा
चाहेर पनि सुम्पेर हिँड्न सक्दिनँ
विदुर १, नुवाकोट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।