घाउ मलाई लागेको छ
पीडा तिमीलाई भएको छ
चोट मलाई लागेको छ
आँशू तिम्रो बगेको छ
गल्ती मेरै भएको छ
मैले बिर्सेको रहेछु
मैले घाउ लागे पनि
नलागेजस्तो गरिदिनुपर्थ्यो
मैले चोट भुलेर
मुस्कुराइदिनुपर्थ्यो
तिम्रो खुशी दृढ राख्न
सिकेरै भए पनि
मैले थोरै अभिनय गर्नुपर्थ्यो
पढाउनेले नपढाएका होइनन्
देखाउनेले नदेखाएका होइनन्
तर
मेरो दिमागले न अभिनय बुझ्यो
न मलाई झूट सुझ्यो
तिमीले त मलाई
जस्ताको तस्तै स्वीकारेकी हौ
अनुहारको खत
शब्दहरू गोडमेल गर्ने लत
सबैसबै स्वीकारेकी हौ
मसँग
न बोल्ने शैली
न ऐश्वर्यको थैली
सबै देखीदेखी
पिरतीको डोरी बाटेकी हौ
तिमीले
बुख्याँचासँग मन साटेकी हौ
म त गल्ती दोहोर्याउँदै
जीवनको भुमरीमा
फनफनी घुमिरहेको रहेछु
निराशाको नदीमा
म डुबेको बेला
तिम्रै हौसलाको हातले तानेको हो मलाई
लामो हिउँदमा म काठिएर जमेको बेला
तिम्रै मायाको न्यानोले पगालेको हो मलाई
अब यो जुलुङ्गो के सिक्छ अभिनय !
मलाई माफ गर
बरु तिमी
आफ्नो ख्याल राख्नू
आफ्नो खुशीमा हाँस्नू
आफ्नो दुःखमा रुनू
मेरा लागि हाँसेर
आफ्ना लागि रुन नभुल्नू
मेरा निम्ति रोएर
आफ्ना लागि हाँस्न नबिर्सिनू !
०००
युवराज भण्डारी
तनहुँ, हाल: क्यानडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










